बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह



काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् ।

संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा सरकारले खारेज गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष साहले सरकारले पर्यटन प्रवद्र्धनको लागि करको दायरा बढाउने तर नयाँ कर थप गर्न नहुने बताए ।

लक्जरी कर लागू भएको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताए । अध्यक्ष साहले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बने पनि सञ्चालनमा आउन नसकेको बताए ।

सरकारबाट पर्यटन व्यवसायीहरुले बजेटमा पर्यटन प्रवद्र्धनकारी नीतिको अपेक्षा गरेको बताए । उनले सरकारले पर्यटन प्रवद्र्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्नेमा जोड दिए ।

उनले पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन नसकेको र बैंकको किस्ता ब्याज बुझाउन नसकेको भन्दै त्यसलाई सरकारले सहजिकरण गर्नुपर्ने सुझाव दिए । बजेटले पर्यटक दशक भनेर घोषणा गरे पनि काम गर्न नसकेको बताए ।

सरकारले कृषि,रोजगारी,आइटी र पर्यटनमा समेत दशक घोषणा गर्ने काम मात्रै गरेको भन्दै आगामी बजेट विगतको भन्दा फरक बजेट ल्याउन उनले सुझाव दिए ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन नीतिहरुलाई पुनः संरचना गर्ने भनिएको भन्दै बजेटमा समावेश गरी कार्यान्वयन गर्न जरुरी रहेको शाहले बताए । विस २०३५ सालको पर्यटन ऐनमार्फत यो क्षेत्र चलिरहेको उनले बताए ।
उनले पर्यटकले खर्च गर्ने अनुपातमा सेवा सुविधा दिन सक्नुपर्ने बताए । ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगे पनि १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेको उनले बताए ।


क्लिकमान्डु