राजधानीको सबै पेट्रोल पम्पमा पहेलो रंग, शौचालय अनिवार्य



काठमाडौं । काठमाडौं महानगरपालिकाको अग्रसरतामा राजधानीका सम्पूर्ण पेट्रोल पम्पमा एकरुपता ल्याउन पहेंलो रंग लगाइएकाे छ । राजधानीमा रहेको पेट्रोल पम्पहरुलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले पम्पहरुमा पहेंलो रंग लगाउन लगाएको हो ।

पेट्रोल पम्पलाई सुधार गरी व्यवस्थित बनाउन महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन सदस्य रहने गरी टोली गठन गरिएको थियो ।

टोलीले अध्ययन गरि दिएको सुझावको आधारमा सबै पम्पलाई पहिचान दिने गरी पहेंलो रंगले पोतिएको छ । यसका साथै निलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचयपत्र पाटीसहित ति पम्पहरुमा निःशुल्क शौचालयको व्यवस्थासमेत गरिएको छ ।

यसका साथै भाडाका सवारी साधनका चालक तथा सहचालकले आफूखुसी प्रयोग गर्दैआएका नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्धसमेत लगाइएको छ । यसका साथै पम्पमा हरियाली हुने गरी बोटविरुवासहित गमलाको व्यवस्थापन, अग्नि नियन्त्रण गर्ने उपकरणलगायतको व्यवस्था पनि गरिएको छ ।

इन्धन भर्ने नोजल ब्वाइले सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाकरसामग्री (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा छ । काठमाडौँ जिल्लामा करिब १ सय २३ वटा पेट्रोल पम्प छन् । ति मध्ये काठमाडौँ महानगरपालिकामा बागमती पेट्रोलियम डिलर्स एसोसियसनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्पहरू छन् ।

अहिले काठमाडौं महानगरपालिकाभित्रका ५० पेट्रोल पम्पका सबै पेट्रोल पम्पका कम्तीमा २ देखि ६ वटासम्म शौचालयहरू सर्वसाधारणको लागि निःशुल्क रूपमा खुल्ला गरिएको छ ।

यस्तै पहिलो चरणमा काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग र नगर प्रहरी बलको नेतृत्वमा नेपाली सेनाका भद्रकाली र सितापाईलामा रहेको पेट्रोल पम्पमा कार्यरत ३० जना सेनालाई आगलागी नियन्त्रण सम्बन्धी तालिम समेत प्रदान गरेको छ ।

यस्ताे छ पम्प सञ्चालनको आधारभूत मापदण्ड

‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित) अनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्छ । यसमा सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ ।

भौतिक पूर्वाधारसहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । विक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेवलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाईमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ ।

रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ । पेट्रोलियम पदार्थको विक्री क्षेत्र, विक्रीस्थलको क्षेत्रफल तथा विक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ ।

आधारभूत मापदण्ड कार्यन्वयनकालागि पनि सम्बन्धीत निकायले सहयोग गर्ने छ भन्ने हामीले आशा राखेका छौ । पम्प खुलेको समयमा शौचालय बन्द रहेको पाइएमा काठमाडौं महानगरपालिकाको निःशुल्क हटलाइन नम्बर ११८० मा कल गरेर गुनासो टिपाउन महानगरपालिकाले आग्रह गरेको छ ।


क्लिकमान्डु