ओलम्पिक र टेलर स्विफ्टका टिकटमा सबैभन्दा बढी अनलाइन ठगी



एजेन्सी । फेक ओलम्पिक र टेलर स्विफ्टको नाममा टिकट विक्रीका स्क्याम यस वर्ष उपभोक्ताहरुलाई सबैभन्दा बढी सताउने अनलाइन ठगी हुनसक्ने युके फाइनान्सले चेतावनी दिएको छ । जवकि ओलम्पिक र स्विफ्टका कार्यक्रम सम्बन्धी फेक टिकटलाई लिएर सर्वाधिक अनलाइन ठगी हुने गरेको तथ्यांक देखिएको छ ।

गत वर्ष रोमान्स जालसाजी र खरिद घोटालामा फसाउने व्यक्तिहरुको संख्या सबैभन्दा धेरै रहेको तथ्यांक आएपछि बेलायतस्थित बैंकिङ लबी समूह यूके फाइनान्सले यस्तो चेतावनी दिएको हो । २०२३ मा समग्रमा धोकाधडीमा आपराधिक समूहले १.१७ बिलियन पाउन्ड स्टर्लिङ चोरी गरेको तथ्यांक थियो ।

तर यूके फाइनान्सले अनलाइन प्लाटफर्मको दुरुपयोगले मानिसहरुलाई असुरक्षित बनाएको बताएको छ । साथै टेक कम्पनीहरुलाई यस्ता स्क्यामहरु रोक्नका लागि थप पहल गर्न पनि आग्रह गरेको छ । गत वर्षको तथ्यांक अनुसार स्क्यामहरु खरिद गर्दा उपभोक्ताहरुले ८६ मिलियन पाउन्ड स्टर्लिङ गुमाएका थिए ।

यस्तो स्क्यामका घटना २०२२ मा भन्दा गत वर्ष २८ प्रतिशत बढेको बताइएको छ । जस अनुसार गत वर्ष १ लाख ५६ हजारभन्दा धेरै स्क्यामका घटना भएका थिए । ‘हरेक वर्ष हामी स्क्यामको एक चक्र नै फेरिँदै गरेको देख्छौं,’ यूके फाइनान्समा आर्थिक अपराधका प्रबन्ध निर्देशक बेन डोनाल्डसनले बताएका छन्, ‘ओलम्पिक र टेलर स्विफ्ट यस वर्षका सबैभन्दा ठूला दुई उदाहरण हुन् ।’
गत अप्रिलमा लियोड्स बैंकले सार्वजनिक गरेको विवरण अनुसार यूकेमा स्विफ्टको सांगीतिक प्रस्तुती हुनुभन्दा अघि उनका प्रशंसकहरुले १ मिलियन पाउन्ड स्टर्लिङ फ्रड टिकटको नाममा गुमाइसकेका छन् ।

विश्वप्रसिद्ध अमेरिकी गायिका टेलर स्विफ्टको उक्त सांगीतिक प्रस्तुती जुलाइमा मात्रै सुरु हुनेछ । यस क्रममा बैंकका ६ सयभन्दा धेरै ग्राहकहरु गुमेको पैसा खोज्दै आइपुगेको पनि बैंकले जनाएको छ ।

ओलम्पिक, युरो २०२४, ग्लेस्टनबरी वा टेलर स्विफ्ट जस्ता ठूला आयोजनाका टिकट तुरुन्तै विक्री भएर सकिने भएकाले ग्राहकहरुले अनलाइनमा खोज्ने गरेको बताइन्छ । तर आपराधिक गिरोहहरुले भने त्यस्ता ग्राहकलाई अनलाइनमा फेक टिकट बेचेर फसाउने गरेका छन् ।

यूके फाइनान्सको वार्षित प्रतिवेदनले ठगी विरुद्धको लडाइँमा केही प्रगति भएको भएको पनि जनाएको छ । यस्तो अनलाइन ठगीलाई यूकेमा सामान्य अपराधको रुपमा मानिए पनि महामारीको समयमा यो क्रम व्यापक रुपमा बढेको थियो । यूके फाइनान्सका अनुसार अधिकांश ठगी पेमेन्ट कार्डसँग सम्बन्धित छन् ।


क्लिकमान्डु