निर्मल पुर्जाले सगरमाथामा अवैधरुपमा हेलिकप्टर पुर्‍याए, प्रभु हेलिकप्टरको उडानमा कडाइ, पाइलट ग्राउण्डेड



काठमाडौं । विवादित पर्वतारोही निर्मल पुर्जाले सगरमाथामा अवैध रुपमा हेलिकप्टर उडाएका छन् । उनले आइतबार विहान साढे ११ बजे हेलिकप्टर उडानका लागि निषेध गरिएको सगरमाथाको क्याम्प २ मा हेलिकप्टर अवतरण गराएका छन् ।

सगरमाथा आधार शिविरभन्दा माथि आकस्मिक प्रयोजनका लागि बाहेक हेलिकप्टर लैजान नपाइने व्यवस्था विपरीत निर्मल पुर्जाले बलजफती हेलिकप्टर लगेको सगरमाथा क्षेत्रमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपालको हवाई उड्डयन क्षेत्रको नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम विपरीत पुर्जाले लुक्लाबाट सिधै सगरमाथाको क्याम्प २ मा प्रभु हेलिकप्टरको ९ एन–एएनएल कलसाइनको ए३५० बीथ्री हेलिकप्टर अवतरण गराएका हुन् ।

प्रभु हेलिकप्टरका वरिष्ठ पाइलट सोवित गौचनले विवादास्पद छविका आरोही शेर्पालाई लुक्लाबाट सगरमाथाको क्याम्प २ मा अवतरण गराएको सगरमाथा आधार शिविरमा रहेका एक सरकारी अधिकारीले बताए ।

उनका अनुसार ‘हवाई उड्डयन नियम विपरित तथा सर्वोच्च अदातलको व्याख्या विपरित पुर्जाले आफूखुशी हेलिकप्टर अवतरण गराएका छन् । उक्त हेलिकप्टर कुनै बिरामीको उद्धारमा नगएको र काठामाडौंबाटै लिएर गएको हेलिलाई पुर्जाले निषेधित क्षेत्रसम्म नै पुर्‍याएका हुन् ।’

पर्यटन विभागबाट क्लाइम्बिङ गाइडको अनुमतिसमेत नलिएका पुर्जा कानुनीरुपमा आधार शिविरभन्दा माथि जान पनि पाउँदैनन् ।

नेपाली मूलका विदेशी नागरिक पुर्जाले नेपालको हिमाल आरोहण गर्न अनुमति लिनुपर्छ । क्लाइम्बिङ गाइडका रुपमा चिनिएका पुर्जा विदेशी नागरिक भएकोले पर्यटन विभागबाट ११ हजार डलर शुल्क तिरेर अनुमति लिनुपर्छ । उनले त्यस्तो कुनै अनुमति नै नलिइ सगरमाथा क्षेत्रमा पुग्नु नै अवैध भएको पर्यटन विभागको भनाइ छ ।

पर्यटन विभागका प्रवक्ता कालिबहादुर भुजेलकाअनुसार पुर्जा अनुमतिबिना सगरमाथा क्षेत्रमा पुगेको र हेलिकप्टरसमेत उडाएको विषयमा फिल्ड कार्यालयबाट जानकारी संकलन गर्ने काम भइरहेको बताए । उनका अनुसार आकस्मिक प्रयोजन बाहेक अवैध रुपमा हेलिकप्टर उडाएको हो वा होइन भन्ने विषयमामेत आवश्यक छानबिन गर्नुपर्ने भएकोले त्यसको अध्ययन भइरहेको बताए ।

सगरमाथामा हेलिकप्टर उडान नगर्न सर्वोच्च अदालतलेसमेत वैशाख १४ मा आदेश दिएको छ । अधिवक्ता दिपक विक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेर आकस्मिक प्रयोजन बाहेक सगरमाथामा हेलिकप्टर उडान नगर्न नगराउन आदेश दिएको थियो ।

प्रभुको उडानमा कडाइ, पाइलट ग्राउन्डेड

अनुमतिबिना आधारशिविर माथि हेलिकप्टर उडाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरको सम्पूर्ण उडानमा कडाइ गर्दै एक पाइलटलाई ग्राउण्डेड गरिदिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार आइतबार बिहान निर्मल पुर्जाको विदेशी टीमलाई उद्धारका लागि हेलिकप्टर सगरमाथा आधार शिविरको क्याम्प २ मा पुगेको भन्ने जानकारी प्राप्त भएको छ ।

उद्धार उडानको लागि जान पाउने भए पनि पुर्जालाई लिएर गएको हेलिकप्टरले अनुमति नलिएकोले प्रभुका सबै हेलिकप्टरको उडानमा कडाइ गरिएको छ । उनकाअनुसार प्रभुले गरेको मेडिकल उद्धार उडानको विषयमा थप अध्ययन भइरहेकोले अर्को सूचना नभएसम्मका लागि प्रभुले उद्धार उडानबाहेकका अरु कार्गो तथा यात्रु सेवाको उडान गर्नमा रोक लागेको छ ।

प्राधिकरणले प्रभु हेलिकप्टरलाई स्पष्टिककरणसहित निर्मल पुर्जालाई लिएर जाने क्याप्टेन गौचनलाईसमेत उडानमा रोक लगाउने निर्णय प्राधिरकणले गरेको छ ।


क्लिकमान्डु