सहकारी ठगलाई जोगाउन सरकार उद्धत: कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सहकारीका केही ठगहरुलाई जोगाउन लागिपरेको निष्कर्ष निकालेको छ।

कांग्रेसले संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न सरकार उद्धत भएको निष्कर्ष निकालेको छ।

प्रमुख सचेतक रमेश लेखकले सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले सरकार पीडितलाई नभइ सहकारी ठगलाई जोगाउन उद्धत भएको निष्कर्ष निकालेको बताए ।

उनले सदनमा कांग्रेसले बोल्न माग गर्दा पनि सत्तापक्षको दम्भको कारणले बोल्न नदिएको आरोप लगाए ।

उनले सरकारले तानाशाही प्रवृत्ति देखाएका आरोप लगाए । कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीका बीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि लेखकले पर्याप्त समय हुँदा हुँदै पनि सरकारले बलमिचाइँ गरेको आरोप लगाए ।

‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदा हुँदै सरकारले बलमिचाइँ गर्‍यो । र, तानाशाही प्रवृत्ति देखायो । पर्याप्त समय हुँदा हुँदै पनि आज अवरुद्ध सदनको बीचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो यो नेपालको संसदीय इतिहासमा नौलो र दु:खदायी घटना मन्चन गरेको छ,’ उनले भने, ‘ यसले संसदीय मूल्य मान्यतालाई कमजोर पारेको छ। विपक्षीलाई बोल्न नदिएर आजै विश्वासको मत लिन जिद्दी गर्ने सरकारले नाटक गरेको छ त्यो खेदजनक छ ।’

संसदीय दलको बैठकले सभामुख देवराज घिमिरे कुनै दलको कार्यकर्ताको ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको उनले बताए।


क्लिकमान्डु