सहकारीबाट लाखौ बचतकर्ताको अर्बौ रकम ठगी, महासंघले असारमा ‘सहकारी रोजगार मेला’ गर्ने
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ती आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ ।
आइतबार बसेको महासंघको बोर्ड बैठकले २०८१ असार ७ देखि ९ गतेसम्म महासंघ परिसरभित्र पहिलो सहकारी रोजगार मेला आयोजना गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आइतबार भर्चुअल रुपमा बसेको बोर्ड बैठकले सरकार, केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायत अन्य सहकारी संघ-संस्था तथा निकायहरुसँगको सहयोग र समन्वयमा मेला आयोजना गर्ने निर्णय गरेको हो । अहिले सहकारीले बचत फिर्ता नगर्दा लाखौ बचतकर्ताको खर्बौ रकम ठगिएको छ ।
बैठकले सहकारी अभियानको मर्यादाक्रमको सूची स्विकृत गरेको छ । नेपालको सहकारी अभियानका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र विवादरहित बनाउन सहकारी अभियानको मर्यादाक्रम सूची तयार भएको महासंघका अध्यक्ष मल्लले बताइन् ।
महासंघले सहकारी क्षेत्रमा आइपर्ने समस्या एवं चुनौतीहरु समाधानमा समन्वय तथा सुझाव लिन विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । बैठकले विज्ञ समूह निर्माण तथा संचालन विधि समेत पास गरेको छ । विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर छिट्टै विज्ञ समूह गठन गरिने अध्यक्ष मल्लले बताइन् ।
बोर्ड बैठकले महासंघको आगामी आर्थिक बर्ष २०८१-०८२ को बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्न वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कार्यक्रम तथा बजेट मस्यौदा उपसमिति गठन गरेको छ । सो समितिको सदस्यहरुमा महासंघका उपाध्यक्ष खेम बहादुर पाठक र उपाध्यक्ष डिवी बस्नेत रहेका छन् । साथै युवा समन्वय उपसमितिको संयोजकमा संचालक सुमन नेपाललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।