एआईले जव युक्रेनी युवतीलाई रुसी नागरिक बनाइदियो
चीनसँग रुसको मित्रताबारे एक युवतीले बोलेको एआई भिडियो चीनका सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको छ । तर उक्त भिडियोमा देखिने ती युवती न रुसी नागरिक हुन् न त कहिल्यै त्यस्तो बोलेकी थिइन् ।
एजेन्सी । युक्रेनी युवतीलाई रुसी नागरिकको रुपमा आर्टिफिसियल इन्टेलिजेन्सले प्रचार गरेको भिडियोलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । स्वयं युक्रेनी युवती ओल्गा लोइएक यस्तो हर्कतबाट क्रुद्ध बनेकी छन् ।
युनिभर्सिटी अफ पेन्सिल्भेनियामा अध्ययनरत ओल्गा युक्रेनी नागरिक हुन् । उनको परिवार हाल युक्रेनमै बस्दै आएका छन् । तर चीनको सामाजिक सञ्जालमा भाइरल बनेको एआई भिडियोमा रुसी नागरिकको रुपमा उनै ओल्गाको अनुहार देखाइएको छ । उनको अनुहार देखिने सामाजिक सञ्जालको एकाउन्ट सोफिया, नाताशा, अप्रिल र स्टेशी जस्ता दर्जनौं नाममा चलाइएको छ ।
जहाँ उनले चिनियाँ मन्डरिन भासामा बोलेको देखिन्छ । जवकि ओल्गाले कहिल्यै चिनियाँ भासा सिकेकी छैनन् । भिडियोमा भनिएको छ, ‘यी सबै युवतीहरु रुसबाट आएका थिए र उनीहरु चीन र रुसको सम्बन्धबारे बोलिरहेका छन् । साथै रुसी उत्पादनको विज्ञापन गरिरहेका छन् ।’
ओल्गाले उक्त भिडियोबारे प्रतिवाद गर्दै भनेकी छन्, ‘मैले देखेँ मेरो अनुहार भएको लगभग ९० प्रतिशत भिडियोमा चीन र रुसको कुरा भएको थियो । चीन र रुसको मित्रताबारे भनिएको छ । र हामी दुई देश बलियो मित्र हौं भनिएको छ । र ती भिडियोमा खानाको विज्ञापन पनि गरिएको छ ।’
ओल्गाको अनुहार प्रयोग गरी चलाइएका सामाजिक सञ्जालमध्ये अधिकांशमा भनिएको छ ‘नताशा इम्पोर्टेड फुड’ । जसको ३ लाखभन्दा धेरै फलोअर्स छन् । ‘नताशा’ आफ्नो भिडियोमा यस्तो भनेकी छन्, ‘रुस सबैभन्दा राम्रो देश हो । तर अन्य देशहरु रुससँग टाढिनु चाहिँ दुखको कुरा हो । र रुस र रुसी युवातीहरु चीनमा आउन चाहन्छन् ।’ भिडियोमा यसो भनेपछि ‘नताशा’ रुसी मिठाइको प्रचार गर्न थाल्छिन् ।
ओल्गाले ती भिडियोमा आफ्नो अनुहार र स्वर सुनेर डलाग्दो कुरा भएको प्रतिक्रिया दिएकी छन् । र आफूले यस्तो कहिल्यै नगरेको बताएकी छन् । यसबारे टिप्पणी गर्दै ओल्गाले भनेकी छन्, ‘आफ्नो जीन्दगीमा यति रखाब कुरा गरोस् भनेर म चाहन्नँ । रुसलाई बढावा दिनका लागि युक्रेनकी युवतीलाई प्रयोग गर्नु मुर्खताको पनि सीमा पार गर्नु हो ।’ ओल्गाको यस्तो मुद्दासँगै एआई प्रयोगको जोखिमलाई लिएर आलोचना पनि भएको छ ।