केबी उप्रेतीको आइडियल यमुनासहित ३ सहकारीलाई स्पष्टिकरण माग



काठमाडौं । सहकारी विभागले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको तीन वटा सहकारीलाई १५ दिने स्पष्टिकरण सोधेको छ ।

विभागका एक अधिकारीका अनुसार आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था र गोरखा बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनु अघि १५ दिने स्पष्टिकरण सोधेको हो । जेठ १५ गतेसम्म तीन वटै सहकारीले चित्त बुझ्दो जवाफ पेश गर्न नसकेको खण्डमा संस्थालाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा पठाइने भएको छ ।

‘तीन वटै सहकारीले बचतकर्ताको बचत फिर्ता गरेन भनेर उजुरी आउनेक्रम बढेको छ’ विभागका एक अधिकारीले क्लिकमान्डुसँग भने ‘संस्थाको उजुरी आइरहने, अनी सहकारीका अध्यक्ष तथा सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगर्ने गर्न मिल्दैन । १५ गतेसम्म बचतचकर्ताको बचत फिर्ताको योजना ल्याउनु पर्यो । बचत फिर्ता नगरेका सदस्य सबैलाई बोलाएर उहाँहरुको बचत फिर्ता गर्ने गर्ने प्रष्ट योजना ल्याउनु पर्छ । १५ गते भित्र योजना सहित विभागले सोधेको स्पष्टिकरणको जवाफ नदिने हो भने विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा पठाउने छ ।’

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा केबी उप्रेती रहेका छन् । उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत हुन् । उनी लामो समय भारतमा लुकेर बसेका थिए । उनी अहिले नेपालमा फर्केका छन् । उनी आफू भारतमा उपचारका लागि गएको बताएका छन् ।

विभिन्न ५ वटा संस्था मर्ज भएर बनेको बहुउद्देश्यीय सहकारीका विभिन्न सेवाकेन्द्रका करिब २ सय बचतकर्ताले करिब २ अर्ब रुपैयाँ बचत फसेको भन्दै विभागमा उजुरी परेको छ ।

नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ मल्टीप्रपोज को अपरेटिभ, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था र आईडिएल यमुना मल्टीप्रपोज को–अपरेटिभ सहकारी मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको छ । यो संस्थाले बचतकर्ताको २ अर्ब भन्दा बढी ठगेको छ । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी सहितका तीन वटा संस्थाले विभागलाई चित्ता बुझ्दो जवाफ नदिए जेठ १५ पछि विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न प्रस्ताव गर्ने भएको छ ।

विभागले सिफारिस गरेपछि भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा गरिने गरेको छ ।

विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न पठाउने छ । अहिले २० वटा सहकारी समस्याग्रस्त घोषणा भएपनि ३ वटाको सम्पत्ति तथा दायित्व फरफारक भएको छ । ३ वटाको दायित्व फरफारक भएर १७ वटा भए पनि ३ वटा थपिँदा २० वटा पुग्ने भएको छ ।

समितिका अनुसार चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले मागदाबी गर्ने सम्पूर्ण बचत फिर्ता भएको छ । यी तीन वटा सहकारी २०७५ असार १८ गते समस्याग्रस्त घोषणा भएका थिए । सरकारले चालु आवमा ८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर बहुउद्देश्यीय सहकारी, तुलसी बहुमुखी सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।


क्लिकमान्डु