बचतकर्ताको रकम फिर्ता गर्न नसकेको हाम्रो सगरमाथा सहकारीमा आगलागी
काठमाडौं । ललितपुर कुपन्डोलमा रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा आगलागी भएको छ ।
बन्द अवस्थामा रहेको सहकारीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले सहकारीमा भएको आगलागी नियन्त्रणमा आएको जनाएको छ ।
केबी उप्रेती अध्यक्ष रहेको सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न बचतकर्ताबाट उजुरी संकलन गरिरहेको छ । उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत हुन् ।
बिजुली महसुल नतिरेको भन्दै सहकारी कार्यालयको लाइन काटिएको छ । लाइन काटिएको सहकारी कार्यालयमा भएको आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी सहित पाँच संस्था मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । तर पाँच संस्थाको एकीकृत कारोबार हुन सकेको छैन भने सहकारी विभागमा मर्ज भएका संस्थाको डिमर्जका लागि आवेदन परेको छ ।