केबी उप्रेती अध्यक्ष रहेको आइडियल यमुनासहित थप ३ सहकारीलाई समस्याग्रस्त घोषणा गरिँदै



काठमाडौं । सहकारी विभागले थप तीन वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ ।

विभागका एक अधिकारीका अनुसार आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था र गोरखा बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने तयारी भएको छ ।
पछिल्लो समय यी ३ वटा सहकारी संस्थाले बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै उजुरी आउनेक्रम बढेको छ ।

‘सहकारीले बचतफिर्ता गरेर भनेर उजुरी आउनेक्रम बढेको छ’ विभागका एक अधिकारीले क्लिकमान्डुसँग भने ‘संस्थाको उजुरी आइरहने, सहकारीका अध्यक्ष तथा सञ्चालक सम्पर्कमा नै नआउने गरेका कारण समस्याग्रस्त घोषणा गर्न लागिएको हो ।’

केही सहकारीका अध्यक्षले देश नै छोडेर भागे भन्ने रिपोर्टिङ आइरहेको भन्दै त्यस्ता सहकारीलाई समस्याग्रस्त घोषणा गर्नका लागि मन्त्रालयमा फाइल पठाउने अन्तिम तयारी रहेको छ ।

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा केबी उप्रेती रहेका छन् । उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत हुन् ।

विभिन्न ६ वटा संस्था मर्ज भएर बनेको बहुउद्देश्यीय सहकारीका विभिन्न सेवाकेन्द्रका करिब २ सय बचतकर्ताले करिब २ अर्ब रुपैयाँ बचत फसेको भन्दै विभागमा निवेदन दिएको विभाग स्रोतको दाबी छ ।

विभागले सिफारिस गरेपछि भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा गरिने गरेको छ । विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न पठाउने छ ।

अहिले २० वटा सहकारी समस्याग्रस्त घोषणा भएपनि ३ वटाको सम्पत्ति तथा दायित्व फरफारक भएको छ । ३ वटाको दायित्व फरफारक भएर १७ वटा भए पनि ३ वटा थपिँदा २० वटा पुग्ने भएको छ ।

समितिका अनुसार चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले मागदाबी गर्ने सम्पूर्ण बचत फिर्ता भएको छ । यी तीन वटा सहकारी २०७५ असार १८ गते समस्याग्रस्त घोषणा भएका थिए ।

सरकारले चालु आवमा ८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

पशुपति सेभिङ एण्ड क्रेडिट, शिव शिखर बहुउद्देश्यीय सहकारी, तुलसी बहुमुखी सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।


क्लिकमान्डु