६२ लाख खर्चेर बानेश्वरमा महानगरले बनायो फल्चा शैलीको बस बिसौनी



काठमाडौं । बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ ।

मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरु बिगार्न नहुने बताए ।

सार्वजनिक सम्पत्तिको रक्षा गर्ने दायित्व सबैको भएको उनको भनाइ छ । परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै यस्ता संरचनाहरु राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने उनको भनाइ छ । बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरुरी रहेको उनले बताए ।

सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ रहेको बताइएको छ ।

यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।


क्लिकमान्डु