महानगरले २ सय ठाउँमा बस स्टप बनाउँदै, ट्राफिक समस्या समाधानका लागि के गर्दैछन् बालेन ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रेखांकन गरी २ सय ठाउँमा बस स्टप बनाउने भएको छ । महानगरको महानगर प्रहरी महाशाखाअन्तर्गतको ट्राफिक तथा यातायात इकाइका अनुसार महानगरभित्रको ट्राफिक तथा सार्वजनिक यातायातको समस्या समाधान गर्न २ सय ठाउँमा बस स्टप बनाउन लागिएको हो । यसका लागि महानगरले सोमबार ठेक्का आह्वान पनि गरेको छ ।

महानगरले रेखांकन गरी तयार गर्ने बस स्टपमा यात्रुलाई ओराल्न र उतार्नमात्रै पाइनेछ । ट्राफिक जाम नहुने गरी र सार्वजनिक यातायातको आवतजावतलाई निरन्तर गराउने गरी बस स्टप तयार गरिनेछ । जताततै यात्रु ओराल्ने, यात्रुलाई कुरेर बस्नेजस्ता समस्याका कारण ट्राफिक जामको समस्या बढ्दै गएकाले त्यसलाई समाधान गर्न बस स्टप सञ्चालनमा ल्याउन लागिएको इकाइले जनाएको छ ।

बस स्टपसँगै महानगरले विभिन्न ठाउँमा फाल्चा पनि बनाउने योजनामा काम गरिरहेको छ । इकाइका अनुसार महानगरले सुरुवातमा यात्रुका लागि १० देखि १२ ठाउँमा फल्चासहितको प्रतीक्षालय निर्माण गर्ने योजना बनाएको छ ।

दुई सय स्थानमा बस स्टपसँगै हाल महानगरले विभिन्न ३६ ठाउँमा पेलिकन क्रसिङ (स्विच थिचेर बाटो काट्ने प्रविधि) जडान गर्दै छ । यसका लागि पनि केही दिनमै ठेक्का आह्वान हुने महानगरले जनाएको छ । २४ वटा सरकारी स्कुल र १२ वटा निजी विद्यालयअगाडि पेलिकन क्रसिङसहितको ट्राफिक लाइट जडान गर्ने गरी ठेक्का आह्वान गर्न लागिएको हो ।

बढ्दै गएको सार्वजनिक यातायातको समस्या र ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न महानगरले क्विक रेस्पोन्स टिममार्फत पनि काम सुरु गर्ने भएको छ । महानगरले नगर प्रहरी र ट्राफिक प्रहरीसँगको सहकार्यमार्फत क्विक रेस्पोन्स टिमबाट ट्राफिकसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्ने रणनीति लिएको छ ।

यसैका लागि महानगरले आइतबार ठेक्का आह्वान गर्दै मोटरसाइकल खरिद प्रक्रिया सुरू गरेको छ । महानगरका अनुसार नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीले महानगरभित्रका विभिन्न ठाउँमा निरन्तर निगरानी गरी जतासुकै पार्किङ भएका सवारी साधनलाई कारबाही गर्नेदेखि जतासुकै यात्रु चढाउने र ओराल्ने सार्वजनिक यातायातलाई निगरानी गर्नेछ ।


क्लिकमान्डु