अर्थतन्त्र शिथिल भए पनि संकटमा छैन : गभर्नर अधिकारी



‘सहकारी लगायतका कारणले अर्थतन्त्र शिथिल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र शिथिल रहे पनि संकटमा नरहेको बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको तथ्यांकले १९ खर्ब ११ अर्ब विदेशी विनिमय मुद्रा सञ्चिति रहेको देखाएको भन्दै बाह्य क्षेत्र सबल रहेको बताए ।

काठमाडौंमा आइतबार एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘अर्थतन्त्र शिथिल भए पनि केही व्यक्तिहरुले भनेजस्तो अर्थतन्त्र संकटमा छैन,’ गभर्नर अधिकारीले भने । यद्यपि केही क्षेत्रमा भने संकट देखिएको उनले स्विकार गरेका छन् । सहकारी लगायत विविध कारणले अर्थतन्त्र शिथिल भएको उनको भनाइ थियो ।

तर चाहिएको समयमा जुनसुकै बेला विदेशी मुद्रा खर्च गर्न सकिने अवस्था रहेको गभर्नर अधिकारीको भनाइ छ । विदेशी विनिमय मुद्रा सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने अवस्था रहेको पनि अधिकारीले बताए ।

गभर्नर अधिकारीले भनेका छन्, ‘भोलिका दिनमा आर्थिक वृद्धिदरका लागि सरकारले कार्यक्रम ल्याउँदा, निजी क्षेत्रले काम गर्छु भन्दा, निजी क्षेत्रसँग पर्याप्त तरलता छ । जुनसुकै बेला प्रयोग गर्न सक्छौं ।’

तर अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका नरहेको उनको दाबी थियो । साथै अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत स्थिरता हुनुपर्ने उनको भनाइ थियो ।

अधिकारीले बैंकहरूको ऋण योग्य ब्याजदर घट्नाले त्यससँग सम्बन्धित उद्योगहरुमा प्रत्यक्ष रुपमा प्रभाव परेको बताएका थिए ।


क्लिकमान्डु