बजेट अधिवेशन वैशाख २५ मा बोलाउने सरकारको तयारी, सहकारी समस्या समाधान गर्न नयाँ कानुन ल्याइने



काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको पनि बताए । यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरु संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढ्ने उनको भनाई छ ।

‘सकरारले अध्यादेशमार्फत् ऐन संशोधन गर्दा सबैलाई उत्साहित बनाएको छ,’ गिरीले भने, ‘संसद नचलेको बेलामा अध्यादेशमार्फत ऐन संशोधन गर्नु सरकारको राम्रो कदम हो ।’

मन्त्री गिरीले बजेट अधिवेशन भएपनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे । ‘आउँदो अधिवेशन बजेट अधिवेशन भएपनि विधेयकहरु पारित गर्दै जाने सन्दर्भमा पनि त्यो अधिवेशन निकै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘त्यसमा हामीले राम्रो सफलता प्राप्त गर्छौ भन्ने ठानेका छौं ।’

देशभर सहकारीको विकराल समस्या रहेको भन्दै उनले अध्यादेशबाट हुन्छ वा आउने अधिवेशनमा छिटोभन्दा छिटो विधेयकहरु पेश गरेर, छलफल गरेर भएपनि अगाडि बढाउने संकेत गरे । ‘यो काम हामी महत्वपूर्ण सवाल हो,’ मन्त्री गिरीले भने, ‘त्यस्तै पर्‍यो भने अध्यादेशमार्फत पनि ल्याउन सक्छौँ ।’

मन्त्री गिरीले संसद बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताए । उनले संसदलाई सहज ढंगले चलाउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको पनि दाबी गरे ।


क्लिकमान्डु