सहकारी ठग्ने व्यक्ति नै गृहमन्त्री भएपछि पीडित झन् पीडामा परे, छानबिन हुनै पर्छः सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी ठगी गर्ने व्यक्ति नै गृहमन्त्री भएपछि सहकारीका पीडित झन् पीडामा परेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको नाम मुछिएपछि प्रहरीले तत्कालीन समयमा छानबिन गरेको बताए ।

‘तत्कालीन समयमा सीआईबी प्रमुखको नेतृत्वमा प्रदिप क्षेत्री र रवि घिमिरे भन्ने प्रहरी अधिकारीले पोखरामा गएर छानबिन गरेका थिए,’ बैठकमा उनले भने, ‘छानबिन समितिले अहिलेका गृहमन्त्री सहकारीबाट बचतकर्ता ठगी प्रकरणमा प्रतिवेदन बनाइरहेको थियो । सत्ता समीकरण फेरिँदा प्रतिवेदन परिवर्तन भयो । जुन निकायले अनुसन्धान गर्ने हो त्यो संस्थामा अनुसन्धान गरिरहेका व्यक्ति प्रमुख भएर आएपछि छानबिन प्रकृया रोकिएको छ ।’ यसले सहकारी पीडितलाई झनै पीडा भएको खतिवडाको दाबी छ ।

सरकारले नै दोषी उम्काउने प्रयास गरेको पाएपछि कांग्रेसले संसदीय समिति गठन गर्न माग गरेको उनले बताए । काठमाडौं, बुटवल, भैरहवा, पोखरा, चितवनका सहकारीबाट अर्बौं रुपैयाँ अपचलन गरेको र गोरखा मिडियाको नाममा १ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यसको प्रबन्ध निर्देशकमा अहिलेका गृहमन्त्री लामिछाने रहेको उल्लेख गरे । सदस्य नभएको व्यक्तिले अर्बौं रुपैयाँ लिएको पाएपछि छानबिन गर्न माग गरेको उनले बताए

छानबिन गरेपछि सत्यतथ्य आउने उनले बताए । गल्ती नगरेको भए छानबिन समिति गठन गर्न दिनुपर्ने र समितिले दिएको सुझाव कार्यान्वयमा सझाउनुपर्ने उनको भनाइ छ ।

उनले गोरखा मिडिया प्रालिले लिएको पैसा रवि लामिछाने भएका कारण तिर्नु पर्दैन भन्ने नजिर छ भने देखाउन सरकारलाई अपिल गरे । ६ वटा सहकारीका ५० हजार भन्दा बढी मानिसले जम्मा गरेको अर्बौ रुपैयाँ एकै संस्थामा गएको उनको दाबी छ । उनले गृहमन्त्रीलाई संसदीय छानविन समितिले दिएको सुझाव स्वीकार गर्नुपर्ने उनको माग छ ।


क्लिकमान्डु