नेपाल प्रहरीमा डीआईजीको २ वटा विशेष दरबन्दी किन सिर्जना गरियो ?



काठमाडौं । सरकारले नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को २ वटा विशेष दरबन्दी सिर्जना गरेको छ ।
सरकारले २ जनालाई बढुवा गर्ने गरी विशेष पद सिर्जना गरेको भन्दै समाजिक सञ्जालमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको आलोचना भइरहेको छ ।

गृह मन्त्रालयका अधिकारीहरु नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत नेपाल प्रहरी केनाईन महाशाखा प्रमुख डा. देउती गुरुङ र केन्द्रीय अनुसन्धान ब्यूरो अन्तर्गतको साईबर ब्यूरो प्रमुख रहेका नवीन्द्र अर्याललाई बढुवा गर्न विशेष पद सिर्जना गरिएको बताउँछन् ।

‘कुकुरलाई तालिम दिने केनाईन महाशाखाको विस्तारमा गुरुङले पुर्याएको योगदान र साइबर ब्यूरोको स्थापनादेखी यसको विस्तारमा अर्यालले पुर्याएको योगदानको कदर गर्न भन्दै प्रहरी प्रधान कार्यालयले डीआईजीको विशेष दरबन्दी थप गर्न प्रस्ताव गरेको थियो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘डीआईजीको स्थायी दरबन्दी थप गर्दा संगठन संरचना मिलाउन एसएसपी, एसपी, डिएसपी लगायतका सबै पदमा दरबन्दी बढाउनु पर्ने हुन्छ । त्यसैले गुरुङ र अर्याल सेवा निवृत्त भएपछी डीआईजी पद खारेज हुने गरी विशेष पद सिर्जना गरिएको हो ।’

कुकुर तालिमका विषयमा बेलायतबाट पिएचडी गरेकी केनाइनकी महाशाखा प्रमुख गुरुङ नेपाल प्रहरीका सेवा निवृत्त एआईजी निरज शाहीकी श्रीमती समेत हुन् ।

केनाइनकी महाशाखाले नेपाल प्रहरीले प्रयोग गर्ने कुकुरलाई तालिम दिने गर्छ । विस २०२६ सालमा ५ जना प्रहरीलाई मलेसियामा तालिम दिएपछी कुकुरलाई तालिम दिने गरी केनाईन इकाइ गठन भएको थियो । ४ वटा कुकुरलाई तालिम दिई सुरु भएको इकाइलाई २०७५ सालमा डिभिजन बनाईएको थियो ।

बम तथा हतियार पहिचान गर्ने, लागुऔषध पहिचान गर्ने तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपमा जमिन मुनि पुरिएका व्यक्ति पहिचान गर्ने सहयोग गर्ने गरी महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ ।

यस्तै, प्रविधीका माध्यमबाट हुने अपराध वृद्धी भएपछी सुचना प्रवधी सम्बन्धी विषय विश्लेषण गर्न साईबर ब्यरोको स्थापना गरिएको थियो । सीआईबी अन्तर्गत रहेको ब्यूरोमा प्रहरी वरिष्ठ उपरिक्षक तहका कर्मचारीले नेतृत्व गर्ने व्यवस्था छ ।


क्लिकमान्डु