काठमाडौंमा राजेन्द्र महतोको प्रदर्शन, झडपमा प्रहरीसहित २९ जना घाइते



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले शनिबार राजधानीमा प्रदर्शन गरेको छ ।

रयाली प्रदर्शनको क्रममा भएको झडपमा परी प्रहरीसहित कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षण नवराज अधिकारीका अनुसार घाइते हुनेमा ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी रहेका छन् ।

घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

उता राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाका अनुसार प्रदर्शन गर्ने क्रममा प्रहरीसँग भएको झडपमा परी २७ जना घाइते भएका छन् । घाइतेहरुको मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा उपचार भइरहेको छ ।

नेता झा पनि घाइते भएका छन् । उनको उपचार ट्रमा सेन्टरमा भइरहेको छ ।


क्लिकमान्डु