दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि बताए।

सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताए।

उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्ने बताए।

प्रधानमन्त्री दाहालले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको पनि बताए।


क्लिकमान्डु