काठमाडौंमा भित्ते बगैँचा: २ सय बिरुवा रोपिए



काठमाडौं । भित्ते बगैँचामा आज २ सयवटा फूल र लहराका बोटबिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो ।

यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा विरुवा रोपेका हुन् ।

आयोजना प्रमुख थापाकाअनुसार फूलमा बेगलबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने विरुवा छन् । सामान्यतयाः यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

हरियाली हुने विरुवामा होया, मनिप्लान्ट, आइभ्यूका विरुवा छन् । यी विरुवा लहरिँदै बढ्दै जान्छन् ।

यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएका छन् । लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २/२ वर्गमिटरका जालीदार बार बनाइएको छ ।

आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो । सहरी सुन्दरता र हरियाली प्रवर्धनका लागि यो काम थालिएको हो ।


क्लिकमान्डु