मधेसमा एसईईमा चिट चोराइनुमा सीडीओ, एसपी र निरीक्षक दोषी: सांसद झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा एसईईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गरे । सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको उनले बताए ।

सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिनुपर्ने उनले बताए । परीक्षालाई आवश्यक पद्धति र कडाइका साथ गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन उनले आग्रह गरे ।

‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गथ्र्यो । तर अहिले मधेस आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ । यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ? किनकी यहीँबाट खटाइएको सीडीओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सीडीओ, एसपी र अरु अधिकारीहरु हुन्’ उनले भने ।


क्लिकमान्डु