चिनियाँ राजदूतले यातायातमन्त्रीलाई भेटेर भने: चक्रपथ विस्तारको काम यहि वर्षबाट सुरु हुन्छ



काठमाडौं । चक्रपथको दोस्रो खण्ड विस्तारको काम चालु वर्षभित्रबाट सुरु हुने भएको छ ।

नेपालका लागि चिनियाँ राजदुत चेन सोङले चालु वर्षभित्रै काम सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसंग सिंहदरबारमा भेटेर काम सुरु हुने दिन र महिना नै तोक्न नसके पनि यहि वर्ष काम सुरु हुने बताएका हुन् । चीनले अनुदान सहयोगमा बनाइदिने भने पनि लामो समयदेखि अलपत्र जस्तै अवस्थामा छ ।

१० किलोमिटरको पहिलो खण्ड (कोटेश्वर-कलंकी ) चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म विस्तार गर्ने नेपालको प्रस्ताव थियो । तर चिनियाँहरुले कलंकीदेखि नारायण गोपालचोकसम्म विस्तार गर्ने सम्झौता गरेका छन् । करिब साढे ९ किमीको यो खण्डमा साइट क्लियरको काम अन्तिम चरणमा पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले केरुङ-काठमाडौं (करिब ७२ किमी) रेलमार्गको अध्ययन पूरा गर्ने विषयमा समेत छलफल भएको बताए । ‘रेलमार्ग,चक्रपथ, अरनिको राजमार्ग, चिनियाँ निर्माण कम्पनीहरुको काम गरिरहेका आयोजनाहरुको विषयमा छलफल भएको छ,’ उनले भने, ‘सहकार्य गर्दै चिनियाँहरुले काम गरिरहेका आयोजनामा सहजीकरण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’

केरुङ-काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएर अहिले सम्भाव्यता अध्ययन भइरहेको छ । तातोपानी नाका मार्फत चीनसंग जोडिने अरनिको राजमार्गको दुरावस्था छ । नेपाली पक्षले अनुदान सहयोगमा बनाइदिन माग गर्दै आएका छन् ।

त्यसै गरी राजदूत सोङले अन्य आयोजनाहरुमा समेत सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

खास गरी चिनियाँ निर्माण कम्पनीहरुले ठेक्का लिएका कामहरु सन्तोषजनक प्रगति छैन् । विभिन्न बाहाना बनाएर उनीहरुले काममा ढिलाई गर्दै आएका छन् । नारायणगढ-बुटवल सडकको प्रगति सन्तोषजनक नभएपछि सडक विभागले ठेक्का तोड्ने सम्मको चेतावनी दिएको थियो ।


क्लिकमान्डु