रवि लामिछाने सहकारी हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण प्रहरीमा पेस गरिएको छैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण प्रहरीमा पेस नगरिएको भन्दै उनको वचाउ गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेपछि प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधि सभा बैठकमा लामिछने सहकारीको सञ्चालक, लेखा, ऋणसमिति, कर्मचारी लगायत कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधिन मुद्दामा पनि नरहेको तर्क गरे ।

‘सूर्यदर्शनका बचतकर्ताले आफ्नो रकम हिनामिनाको जाहेरी दर्खास्तमा कसैको नाम किटिएको थिएन,’प्रधानमन्त्रीले भने, ‘प्रहरीले १९ जनालाई प्रतिवादी कामय गरी कास्की अदालतमा मुद्दा दायर गरेको छ । ती १९ मध्ये ४ जना पक्राउ परेका छन् र बाँकीको खोजी भइरहेको छ ।’

मूल उजुरी परेको ६ महिनापछि पुरक निवेदन दिइएको र त्यसमा रवि लामिछानेसमेत १८ जनालाई विपक्षी बनाइएको भन्दै प्रधानमन्त्री दाहालले उक्त जाहेरिमा सहकारी हिनामिनामा संलग्न भएको कुनै आधार र प्रमाण पेस नगरिएको बताए ।
लामिछानेको ऋण फर्छ्यौट भएको देखिएको र उनको विषयमा अनुसन्धान गर्न आवश्यक नभएको प्रहरीको बिफ्रिङ कांग्रेस सरकारमा भएको बेलामा प्रहरीले गरेको प्रधानमन्त्रीको भनाइ छ ।

‘रवि सरकारमा सहभागी हुने भएपछि संसदको नियमित कामकारबाही प्रभावित हुने गरि उठाउनु कति उपयुक्त हो ?,’ प्रधानमन्त्रीले भने, ‘ ठाडो उजुरी दर्ता हुनासाथ राजीनामा दिने निर्णय गर्ने हो?’


क्लिकमान्डु