गगन थापाको प्रश्न: सहकारीबाट १ अर्ब ३५ करोड ठगीमा गृहमन्त्री लामिछाने पनि दोषी, अनुसन्धान कसले गर्छ ?



काठमाडौं । सांसद गगन थापाले पोखराको सूर्यदर्शन सहकारीबाट करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोडभन्दा बढी पैसा ठगीमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद थापाले उक्त सहकारीका विषयमा धेरै उजुरी परेपछि पोखरा महानगरपालिकाले गरेको अध्ययनले १०० जना व्यक्तिले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड अपचलन गरेको र त्यसमा गृहमन्त्री लामिछाने समेतको संलग्नता देखिएको दाबी गरे ।

‘उक्त अध्ययन प्रतिवेदनको ७८ पृष्ठमा नक्कली खाता खोल्ने सय जना मध्ये १ जनाको नाम हो गृहमन्त्री रवि लामिछाने’ सांसद थापाले भने, ‘उहाँ त्यो सहकारीको सदस्य हुनुहुन्न । उहाँले १ करोड लिनु भएको छ । सहकारी ऐनको दफा ५० ले यसलाई गैह्र कानूनी भन्छ ।’

उक्त सहकारीबाट विभिन्न सय जनाले नै सहकारीमा धितो नराखी, सहकारीमा सदस्य नबनी, कुनै प्रकृया नपुर्याई १ अर्ब झ्वाम पारेको सांसद थापाको दाबी छ । ‘यसरी सहकारीबाट सदस्यदलाई ठग्नेलाई छोड्ने हो भने सबै सहकारीलाई छोडनु पर्ने अवस्था आउने हो की भन्ने देखियो, तर, यो गर्न सरकार तयार हो की हैन ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।

‘गोरखा मिडिया नेटवर्कले सूर्यदर्शन सहकारी, सुप्रिम सहकारी, साहारा सहकारीबाट ५० औं करोड लगेको छ’ उनले भने ‘सहकारी ऐनको दफा ३० ले नाफा कमाउने कम्पनीले लिन पाउँदैन, त्यो गैह्र कानूनी भयो । यो कम्पनी सञ्चालन गर्नेलाई फौजदारी अपराध संहिताले अपराधी ठान्छ । यो कम्पनीको सेयर होल्डल जिबी राई र रवि लामिछाने हुन् ।’

२०७८ वैशाखदेखि २०७९ जेठसम्म सञ्चालक रवि लामिछाने भएको र यो अवधिमा सहकारीबाट १०औं करोड लगेको उनको दाबी छ । यस्ता कम्पनीमा पार्क भएको अर्बौं रुपैयाँ जफत नगरी बचतकर्ताको पैसा फिर्ता गर्न नसकिने उनको दाबी छ । यो अनुसन्धानको विषय बन्नुपर्ने प्रतिनिधि सभाको बैठकमा थापाले बताए ।

‘गृहमन्त्री आफैं जोडिएको विषयमा अनुसन्धान कसले गर्ने ? भन्दै थापाले प्रश्न गरे ।

सहकारीमा गरेको ठगीको घटनाको इमान्दार पूर्वक अनुसन्धान गर्न थापाले माग गरे । पछिल्लो समय सुप्रिम, इमेज, शिवदर्शन जस्ता सयौं सहकारीबाट ठगिएका बचतकर्ताको पैसा फिर्ता गर्न सक्ने की नसक्ने भन्दै प्रश्न गरे ।


क्लिकमान्डु