सुरक्षित कारोबार पहिलो संशोधन विधेयक स्वीकृत



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधेयकलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको हो । विधेयकमाथि उठेको प्रश्नको जवाफमा अर्थमन्त्री पुनले विश्वव्यापीकरण, सूचना प्रविधिले पारेको प्रभाव तथा प्रवृत्तिलाई उपयोग गर्ने हिसाबले विधेयक प्रस्तुत गरिएको हो । कारोबारलाई सुरक्षित एवम् थप पारदर्शी बनाउने उद्देश्य राखिएको बताए ।

त्यसअघि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरुले मुलुकको यथार्थतालाई सम्बोधन गर्ने गरी बजेट प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

सांसद तारामान स्वाँरले विद्यमान समस्या समाधान गर्ने लक्ष्यका साथ बजेट विनियोजन गर्नुपर्ने बताए । मुलुकको ठोस अवस्थाको ख्याल गरेर प्राथमिकता निर्धारण गर्न उनले अर्थमन्त्रीलाई आग्रह गरे ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले कृषि क्षेत्रको उत्थान, कृषि उपजमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर बजेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिए । कृषि क्षेत्रलाई व्यवासायिक बनाउनेतर्फ राज्यले विशेष ध्यान दिन नसक्दा मुलुक पछाडि परेको उल्लेख गर्दै सिँचाइका आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे ।

सांसद वामदेव गौतमले एक वर्षभित्र पूरा हुने विषयलाई बजेटको सिद्धान्त र प्राथमिकतामा नराखिएकमा गुनासो गरे । मुलुकमा राजनीतिक रुपमा ठूलो परिवर्तन भएपनि आर्थिक, शासकीय र निर्वाचन प्रणाली उस्तै रहेकाले त्यसमा सुधार जरुरी रहेको उनको भनाइ छ । सांसद श्रीकृष्ण अधिकारीले बजेटका सिद्धान्त र प्राथमिकताले मुलुकलाई चिन्न सक्यो कि सकेन भन्ने प्रश्न गर्दै आवश्यकतालाई ख्याल गरेर अगाडि जानुपर्ने बताए ।


क्लिकमान्डु