सेमिकन्डक्टर निर्माणमा आक्रामक बन्दै भारत, एक साथ तीन उद्योगको सुरुवात



एजेन्सी । सेमिकडक्टर निर्माणको क्षेत्रमा अग्रसर बन्दै गएको भारतमा बुधबार एक साथ तीन सेमिकन्डक्टर उद्योगको सुरुवात भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार करिब १.२५ लाख करोड भारतीय रुपैयाँ (१९ खर्ब ९७ अर्ब नेपाली रुपैयाँ)का तीन सेमिकन्डक्टर उद्योगको सुरुवात गरेका हुन् ।

यी तीन उत्पादन कारखानाहरुमध्ये एक भारतको आसमको मोरिगाउँ र दुई गुजरातको धोलेरा र सानन्द क्षेत्रमा स्थापित हुनेछन्।

भारत पछिल्लो समय सेमिकन्डक्टर निर्माणमा आक्रामक बनिरहेको छ । भारतीय प्रधानमन्त्री मोदीले यसैका लागि इन्डियाज टेकेडः चिप्स फर बिकसित भारत कार्यक्रम नै ल्याएका छन् ।

सोही कार्यक्रम अन्तर्गत रहेर उनले तीन उत्पादन कारखानाको सुरुवात गरेका हुन् । यसले भारतलाई सेमिकन्डक्टर उत्पादनको क्षेत्रमा वैश्विक हब बन्न सहयोग गर्ने मोदीको दाबी थियो ।

उनले इतिहास लेख्ने कदम उठाइरहेको र २१ औं शताब्दी प्रविधिमा आधारित रहेकाले चिप बिना केही पनि कल्पना गर्न नसकिने समेत बताएका थिए ।

भारतमा गत महिना केन्द्रीय मन्त्रिपरिषद्ले तीन सेमिकन्डक्टर कारखाना निर्माणका लागि अनुमति दिएको थियो । यी तीनै वटा कारखानाको सुरुवात आगामी १ सय दिनभित्रमा सुरु हुने बताइएको छ ।


क्लिकमान्डु