कांग्रेसलाई स्वर्णिमको प्रश्न: रविलाई प्रधानमन्त्रीको अफर गर्दा नैतिकता किन खोज्नु भएन ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद डा. स्वर्णिम वाग्लेले आफ्ना दलका मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा वाग्लेले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भएकाले आफूहरु सरकारमा सहभागी बनेको बताए ।

उनले फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी व्यक्तिले चासो राख्नु स्वभाविक भए पनि आन्तरिक पार्टी मेकानिजममा नबोल्न चेतावनी दिए । प्रधानमन्त्रीको समर्थनमा रास्वापको चाल चेसमा उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्ने मात्रै रहेको उनले बताए ।

नेपाली कांग्रेसप्रति लक्षित गर्दै वाग्लेले गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे ।

वाग्लेले संसदमा यसो भने

यो फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीहरुले चासो राख्न सक्नुहुन्छ, तर यो सन्तुलनलाई हाम कसरी अघि बढाउने भन्नेकुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छोडिदिनुहोला । राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्छ ।

चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ । उँट, घोडा, हात्ती, रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पनि हामी पुग्न चाहन्छौं । प्रधानमन्त्रीको समर्थनमा हाम्रो आजको चल यही नै हो । गर्छौ के भन्ने प्रश्न उठेको छ । हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएका होइनौँ ।

हाम्रो प्रवेश सशर्त छ, काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ, सरकारबाट डेलिभरी गर्न सकिन्छ की भनेर आएका छौँ । सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ । गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ । प्रधानमन्त्रीज्युलाई सहज बनाइदिन्छौं । गरे त हुने रहेछ नि ।

गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो नि । यहाँ डर छ भागिभागि हिँड्नुपरेको छ । च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छ कि भनेर हिँड्नुपरेको छ । कांग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । कांग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली कांग्रेस खोजेर हिँड्ने कुरा भएन ।


क्लिकमान्डु