‍बजेटको सिद्धान्त र प्राथमिकतामा नयाँ कुरा छैन: एमाले



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकताले नेपालको वर्तमान आवश्यकतालाई नचिन्ने दाबी गरेका छन् ।

आइतबार संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले सरकारले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता हेर्दा विगतकै वर्षहरुको जस्तो रहेको बताए ।

सरकारले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले पुँजीवादी पक्षलाई समातेको उनको भनाइ छ । गरिबी निवारण उद्देश्य बनाएर त्यसका निम्ति चाल्नुपर्ने कदम सिद्धान्त र प्राथमिकतामा नरहेको उनको भनाइ छ ।

‘हामीले गत वर्षको जस्तो बजेट पाएका छौँ । अत्यन्तै हानिकारक । विगत दुई वर्षका बजेटहरु वास्तवमा पुँजीवादी, नेपालको वर्तमान आवश्यकतालाई चिन्दै नचिनेका, बुझ्दै नबुझेका बजेटहरु आए । यस सिद्धान्त र प्राथमिकता भनेर जुन आएको छ, यसले त्यही पुँजीवादी पक्षलाई समातेको छ,’ उनले भने, ‘ यसले गरिबी निवारण एउटा उद्देश्य बनाएर त्यसका निम्ति चाल्नुपर्ने कुनकुन कुराहरु प्राथमिकताका हुन् भन्ने जस्ता कुराहरु गरेको छैन । हामीले राष्ट्रिय पुँजीको विकास, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास र त्यसतर्फको यात्र ति कुराहरुलाई लिएर जानुपर्ने हो । तर त्यो भइरहेको छैन । यसले त्यसलाई बोक्दैन । सिद्धान्तका ठाउँमा सिद्धान्त छैन । प्राथमिकताका ठाउँमा प्राथमिकता छैन ।’


क्लिकमान्डु