बैंकिङ क्षेत्रमा आक्रमण र धरपकड भइरहेको छ, यसले प्रणालीमै समस्या निम्त्याउँछ: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकका कर्मचारीहरुमाथि विभिन समूह र क्षेत्रबाट आक्रमण र धरपकड भइरहेको भन्दै यसले बैंकिङ प्रणालीमा समस्या निम्त्याउने बताएका छन् ।

दुर्गा प्रसाईंको अराजकतालाई नरोक्ने हो भने बैंकहरुले सोचअनुसार कर्जाको माग र प्रवाह नहुने उनको भनाइ छ ।

लामो समयदेखि दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने अभियान चलाइरहँदा आइतबार अर्थसमितिले आयोजना गरेको छलफलमा गभर्नर अधिकारीले यसले बैंकिङ प्रणालीमा समस्या निम्तन सक्ने बताए ।

गभर्नर अधिकारीले यस्ता अभियानले बैंकिङ क्षेत्रका कर्मचारीको मनोबल घट्ने बताए । ‘कर्मचारीलाई मोसो दल्ने, धरपकड गर्ने काम भएको छ,’ उनले भने, ‘यस्ता कार्यले कर्मचारीले कसरी काम गर्न सक्छन् ।’

अहिले केही समूह बैंकिङ क्षेत्र, नियामक निकायलाई कमजोर बनाउने लागेको बताए । बैंक कमजोर बनायो भने सबै क्षेत्र कमजोर बनाउन सकिने स्वार्थ समूह लागेको उनको दाबी छ ।

अहिले बैंकको कर्जाको गुणस्तर खस्केको उनले बताए । ‘बजारमा ऋण नतिरेपनि हुन्छ भन्ने अभिव्यक्तिले, गलत आश्वासनले बजारमा असर परेको छ । यसले कर्जा प्रवाह र असुली असर परेको छ’ उनले भने ‘त्यसको प्रभाव बैंकको खराब कर्जामा पनि परेको छ ।’

अहिले सबै बैंकहरु सुरक्षित रहेको, जनताको पैसा सुरक्षित रहेको उनको भनाइ छ ।


क्लिकमान्डु