आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूको समान धारणा र समझदारी आवश्यक रहेको बताएका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा अध्यक्ष ढकालले यस्तो बताए । उनले मुलुकलाई अहिलेको आर्थिक अवस्थाबाट बाहिर ल्याउन र जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न सबै राजनीतिक दलहरूबीच सहकार्य र समझदारी आवश्यक रहेको बताए ।

यसका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको पनि उनले बताए । अध्यक्ष ढकालले राखेको उक्त प्रस्तावमा पूर्व प्रधानमन्त्रीहरूले समेत सहमति व्यक्त गरे । अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए ।

उनले नेपालमा पर्यटनको सम्भावना अथाह भएपनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे । उनले पर्यटकहरुको लागि आवश्यक पूर्वाधारहरुको बिकास गर्न सके मात्र पर्यटक आगमनको अहिलको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताए ।

उनले अर्बौं लगाएर बनाएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । उनले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्न जरुरी रहेको बताए ।


क्लिकमान्डु