नेपालमा डेल कम्प्युटर बेच्ने आईटी ग्लोबलको व्यापार घट्यो, १ अर्ब २ करोडको कारोबार



काठमाडौं । विश्वचर्चित कम्प्युटर तथा कम्प्युटर उपकरण निर्माता ब्राण्ड डेलको नेपालका लागि आधिकारिक बिक्रेता रहेको आईटी ग्लोबल प्रालीको व्यापारमा कमी आएको छ ।

कम्पनीको सन् २०२३ को व्यापारमा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा ५६ करोड ३० लाख रुपैयाँको कमी आएको हो ।

सन् २०२१ मा ५० करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको सन् २०२२ को व्यापारमा ठूलो उछाल आएर १ अर्ब ५८ करोड ५० लाख रुपैयाँको व्यापार भएको थियो । सन् २०२३ मा भने कम्पनीको व्यापारमा कमी आएको छ । सन् २०२३ मा कम्पनीको व्यापार १ अर्ब २ करोड २० लाखमा सीमित भएको छ, जुन अघिल्लो वर्ष सन् २०२२ को तुलनामा ५६ करोड ३० लाख रुपैयाँले कम हो ।

कम्पनीको व्यापारमा कमी आइरहँदा कम्पनीको ब्याज, कर, मूल्यह्रास र परिशोधनअघिको आम्दानी (एबिटडा मार्जिन)मा भने वृद्धि भएको छ । सन् २०२१ मा ७.३४ रहेको मार्जिन सन् २०२२ मा निकै कम भएर २.७५ मा सीमित भएको थियो । सन् २०२३ मा भने यसमा वृद्धि भएर १४.४० प्रतिशत भएको छ ।

आईटी ग्लोबल प्रालि सन् २००८ मा सुरु भएको कम्पनी हो । यसले विभिन्न विद्युतीय सामानहरुको बिक्री वितरण नेपालभरि नै गर्दै आएको छ । डेल कम्पनीका उत्पादनहरुको नेपालका लागि आधिकारिक बिक्रेता रहेका तीन कम्पनीहरुमध्येको एक रहेको आईटी ग्लोबलका मालिक भने अक्बर हुसेन हुन् ।

कम्पनीले हाल १ अर्ब ८८ करोड ७५ लाख रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सले आईटी ग्लोबललाई ८७ करोड ७५ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माईनस र १ अर्ब १ करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु