![](https://clickmandu.com/wp-content/uploads/2023/11/casino-768x403.jpg)
काठमाडौं । सरकारले क्यासिनो सञ्चालनमा कडाइ गरेको छ । प्रतिनिधिसभाबाट बुधबार पारित भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० ले पर्यटन ऐन–२०३५ मा संशोधन गरेको छ ।
यो ऐन संशोधनसँगै अब नेपालमा दर्ता हुने भएर सञ्चालन हुने क्यासिनोले अन्तर्राष्ट्रिय सीमाबाट ५ किमि किलोमिटर दुरी अनिवार्य कायम हुनुपर्ने व्यवस्था भएको छ । यो व्यवस्थासँगै अब भारतीय सीमा नजिकका होटलमा क्यासिनो सञ्चालन गर्न पाइने छैन भने तोकिएको दूरीभन्दा टाढाका होटलमा मात्रै क्यासिनो चलाउन पाइने भएको छ ।
ऐनले क्यासिनो सञ्चालन इजाजतपत्र दिन सकिने मापदण्डमा अन्तर्राष्ट्रिय दुरी ५ किलोमिटर तोकिएको छ । यसअघि यो दुरी तीन किलोमिटर मात्रै थियो ।
संशोधति ऐनसँगै अब नेपालका क्यासिनो चारतारे र सोभन्दा माथिका होटलमा मात्र चलाउन पाइने छ । सो भन्दा मुनिका होटलमा सञ्चालन हुने क्यासिनो भने मिनि क्यासिनो अर्थात गेमिन मात्रै हुने छ । तर, नयाँ नियम सुरू हुनुअघि तीन किलोमिटर भित्र कानुन अनुसार इजाजत पत्र लिएकाको हकमा निरन्तर चलाउन पाइने छ ।
चारतारे वा त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने मापदण्ड पूरा नभएका क्यासिनोले भने यो स्तर र मापदण्ड पूरा गरी ५ किलोमिटर भित्र स्थानान्तरण गर्नुपर्ने समेत नियम बनेको छ ।
संशोधित ऐनले एउटा इजाजतबाट एउटै मात्र क्यासिनो चलाउन पाइने छ । यस अघिजस्तो एउटा कम्पनीले लिने लाइसेन्सबाट एकभन्दा बढी क्यासिनो चलाउन पाइने छैन ।
यसअघि एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भए २०८१ सालभित्र रोजेको कुनै एकमात्र क्यासिनो चलाउन अनुमति दिइने व्यवस्था नयाँ ऐनमार्फत गरिएको छ । भइकै क्यासिनामो एउटैक कम्पनीबाट एक भन्दा बढी भएमा नयाँ कम्पनी खोलेर इजाजत लिनुपर्ने व्यवस्था पनि भएको छ।
क्यासिनोको इजाजतपत्रको अवधि एक वर्षको हुनेछ । इजाजतपत्र नवीकरण अवधि एक महिना बाँकी छँदै गर्नुपर्ने गरी प्रावधान राखिएको छ । बार्षिक रोयल्टीको व्यवस्था यथावत राखिएको छ ।
प्रतिक्रिया