रुस्लान जन्माउन रक्सीका बादशाह विजयकुमारको संघर्ष: घुस माग्नेलाई राजाले बर्खास्त गरेपछि देश छाडिनँ



पुस्तैनी सयौं वर्षको व्यावसायिक इतिहास भए पनि संस्थागतरुपमा जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिज ५० वर्ष पूरा भएको छ। हाम्रो पारिवारिक व्यवसायलाई अघि बढाउने म पाँचौं पुस्ता हुँ । मेरो बाबु-बाजे पनि मदिरा व्यवसायमै संलग्न हुनुहुन्थ्यो । कोही शोखका लागि त, कोही सिक्ने क्रममा र कोही व्यवसायका रुपमा । पुस्ताअनुसार हामी संलग्न हुँदै गयौं । र, हाम्रो परिवारको पछिल्लो पुस्ता पनि मदिरा बिजनेसमै संलग्न हुँदै गएको छ । मैले नै हाम्रो पारिवारिक व्यवसायलाई आधुनिकीकरण गरेको हुँ । नेपालीलाई भोड्का खुवाउन मैले नै सिकाएको हुँ । रुस्लान भोड्का मेरो सन्तानजस्तै हो । आज जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिजले डेढ दर्जन मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । वार्षिक अर्बौंको कारोबार गर्दै आएको छ ।

राणाकालमा ठेक्का प्रथा

म केटाकेटी हुँदाखेरी बुबा (रामनारायण साह)ले मलाई घोडामा धेरैपटक उहाँसँगै नेपालगञ्ज, कञ्चनपुर, कैलाली लैजानु भएको याद छ । जंगलको घोडेटो बाटो भएकाले यात्रा कठिन थियो । यस्तो कठिन संघर्ष गरेर बाबुबाजेले व्यवसाय गरिरहेका थिए ।

यात्रा गर्दा त्यसबेला अत्यावश्यक सामानका रुपमा बन्दुक र खाद्य सामाग्री बोक्नुपर्थ्यो । बाटोमा होटल रेस्टुरेन्ट थिएनन् । तर, रक्सीको वितरण भने गज्जबको थियो । सबैचिज धेरै सानो थियो । हाम्रा बाबुबाजेहरु साढे १२ हजार आम्दानीका लागि नेपालभर काम गर्थे । त्यो आम्दानी राम्रो मानिन्थ्यो। मदिराको बिजनेश सबै ठेक्कामा हुन्थ्यो । शीर्फ ठेक्काको रकम बुझाउने, बाँकी घर लैजाने । कुनै कचकच थिएन । बडा आसान थियो । राणा शासनको समयमा ठेक्का भनेको जमिनदारीभन्दा पनि बलियो थियो । ठेक्का सम्बन्धी कानुन धेरै कडा भएकाले ठेक्कालाई ‘गुड इजी मनि’ मानिन्थ्यो ।

त्यो बेलामा बिडिङ (बोली लगाउने) भन्ने हुन्थ्यो । स्पष्ट रुपमा बढाबढ हुन्थ्यो । बोली लगाउने सबै मान्छेलाई बोलाएर सम्बन्धित सरकारी अधिकारीहरुले बोलपत्र खोल्थे । नेपालगञ्ज, विराटनगर, कञ्चनपुर वा अन्य कुनै क्षेत्रमा ५ वर्षको ठेक्काका लागि तपाईं कति रकम बुझाउनुहुन्छ भन्ने किसिमले बढाबढ हुन्थ्यो । बोलकबोल खुलारुपमा हुने भएकाले कुनै पनि लुकाचोरी, म्यानुपुलेसन हुने अवस्थै थिएन । फेयर बिजनेश थियो । कहिलेकाहिँ बिजनेशमा जुँगाको लडाईं पनि हुन्थ्यो, जुन विपत्तिजनक हुन्थ्यो । धेरै क्षेत्रमा हाम्रो बाबुबाजेको नोक्सान पनि भयो । कुनै क्षेत्रमा धेरै नाफा भएको पनि थियो ।

धेरैपछि अर्थात् राजा महेन्द्रको पालामा सिलबन्दी बोलपत्र (सिल्ड बिड) टेन्डर भयो । त्यसबेला रि-बिड थिएन । जे बोल्यो, सकियो । निर्णय भयो । ५ सालको जमिनदारीजस्तो ठेक्का प्रथा हुन्थ्यो । राणाकालीन समयमा मदिराको ठेक्का सुरु भएको मैले बुबाको कहानीबाट सुनेको हुँ ।

बाघ र स्यालले रक्सी खाएनन् भन्दै जुद्धशमशेरलाई पत्र

श्री ३ महाराज जुद्धशमशेरको समयमा एउटा युनिक सरकार थियो । त्यसबेला वीरगञ्जमा भएको हाम्रो रक्सी भट्टी बडाहाकिमले सार्न आदेश दिएपछि जंगलको किनारामा पठाइयो । यो कुरा चित्त नबुझेपछि महाराज जुद्धशमशेरलाई मेरो बुबाले बिन्तीपत्र लेख्नुभयो । बिन्तीपत्रमा भनिएको थियो- ‘सरकार, बाघ-स्याल रक्सी खान आएनन् । ममाथि अन्याय भइरहेको छ।’

जुद्धशमशेरले मेरो बुबालाई काठमाडौं बोलाएर सोध्नुभयो- ‘यो को मान्छे हो ? बाघ र स्यालले रक्सी खाएनन् भनेर लेख्ने ?’

जुद्धशमशेरले मेरो बुबाको सबैकुरा सुन्नुभयो । र, आदेश दिनुभयो- ‘जहाँ उसको रक्सी भट्टी थियो, उसलाई त्यहीँ गरिखान दिनू। सरकारको रकम तिरिरहेको छ । जंगलमा सार्दा त उ घरबारबिहीन हुने रहेछ । उसलाई डाँडा कटाउने काम नगर्नू ।’

जुद्धशमशेरको उक्त आदेश त्यो बेलाको एउटा अद्धितिय फैसला थियो ।

त्यसबेला ठेक्का धेरै कम चिजको हुन्थ्यो । रक्सी, छालाका सामान, चरेस, गाँजा, भाङको मात्रै ठेक्का हुन्थ्यो । भन्सारको पनि ठेक्का हुन्थ्यो । रक्सीमा मतभट्टी सिस्टम थियो । बियरसियर त्यसबेला नेपालमा थिएन । अधिकांश रक्सी मौवाबाट बन्थ्यो । यो अहिले नहुनु दुःखद् छ । मौवाको रक्सीको गुण अहिलेको अन्नको रक्सीसँग तुलना गर्दा आकाश-जमिनको फरक छ । त्यो बेलाका रक्सी बनाउने केही भाँडाहरु सम्झनाको रुपमा राखेको छु । त्यो बेला थालमा थोपाथोपा फर्मेन्टेड वाक्स राखिन्थ्यो । कति समयमा खसिरहेको छ र तयार भयो कि तयार भएन भन्ने कुरा हेरेरै जाँचिन्थ्यो ।

तर फेरि पनि समयसँगै कुराहरु फेरिन्छन् । मेरो जीवनमा पनि धेरै संघर्षहरु छन् ।

अढाइ लाख खर्चेर अमेरिकामा पढाइ-लेखाइ

हजुरबुबाले मलाई साइन्स पढोस् भन्ने चाहनुहुन्थ्यो । बुबाको धेरै कट्टर बानी थियो । बुबा भने साइन्स पढाउन चाहनुहुन्नथ्यो। म के गरौं, के नगरौं दोधारमा थिएँ । आमाको विचार थियो, नेपालमा नपढाउने ।

मेरो पढाइलेखाइ भारतको पटनास्थित सेन्टजेभियर्सबाट सुरु भयो ।

बडा गज्जबको थियो मेरो जीवन । तीन विषयबाहेक सबै विषयमा फेल । बडा जिद्दी स्वभावको थिएँ । गणित, केमेस्ट्री र फिजिक्समा पास भएँ । बाँकी विषयमा झण्डै-झण्डै लड्डुराम । शून्य ल्याउने खालको । जसोतसो तेस्रो डिभिजन ल्याएर पास भएँ । तर, यी तीन विषयमा भने एसियामा डिस्टिन्सन ल्याएँ ।

सेन्टजेभियर्सका प्रिन्सिपल फादर मर्फीले भने, ‘तिमीलाई साइन्स पढ्नु छ भने म जहाँ पनि पठाइदिन्छु । अरु चीज पढ्नु छ भने तिमी यहिँ बस ।’

आफूले चाहेको कुरा पाउन मैले धेरै संघर्ष गर्नु परेको थियो ।

वास्तवमा कलेज जानुअघि मेरो बुबाले भन्नुभयो कि- तिमी बिजनेस म्यानेजमेन्ट पढ्छौं भने मात्रै म पैसा तिर्छु । अरु जे पढ्नु छ, तिमीले आफैं काम गरेर कमाएर पढ्नुपर्छ ।’

मलाई बिजनेश म्यानेजमेन्ट नै पढाउने बुबाको ट्रिक थियो त्यो । अझ भनौं त्यो कडा अनुशासनमा बस्नु पथ्र्यो हामी । त्यसैले मैले बुबाको आज्ञाअनुसार बिजनेस म्यानेजमेन्ट पढें । केमेस्ट्री मेरो चाहना (डिजायर) थियो । अझ भनौं मेरो जिनमै थियो ।

जब म अमेरिका पढ्न गएँ । त्यहाँ विश्वविद्यालयले तिमी कुन विषय बढ्ने भनेर सोधे पनि मसँग विषय छनोट गर्ने ठाउँ थिएन। किनभने, देशमा सीमित डलर हुन्थ्यो । त्यो नेपाल राष्ट्र बैंकले दिन्थ्यो । त्यसैले विषय छनोट गरेर पढ्ने सुविधा हामी एसियनको थिएन । हामीले जे पढ्नका लागि जति खर्च लाग्छ भनिएको हुन्थ्यो, त्यतिमात्रै डलर साट्न पाउँथ्यौं । हाम्रो सरकारले सबै कुराको हिसाब माग्थ्यो । राष्ट्र बैंकको हिसाब भर्दैमा हैरान भइन्थ्यो ।

मेरो पढाइमा अढाइ लाख रुपैयाँ लागेको थियो बुबाको । अहिलेको त के छ भने एक साल पढेपछि विषय मन परेन भन्दा पनि सरकारले तपाईंलाई डलरको थप सुविधा दिन्छ । हाम्रो पालमा त विदेश पढ्न जाने स्वीकृति पाउनु नै ठूलो पुण्यजस्तै थियो।

राम्रा गुरु र मेन्टर पाएँ

एकातिर बुबाले भनेको बिजनेश म्यानेजमेन्ट पढेँ । अर्कातिर दिनरात नभनी काम गरेर कमाएको पैसाले केमिकल इञ्जिनियरिङ पढेँ । फेल हुने छुट पनि थिएन । किनभने, फेल भयो कि वर्षौंको मिहेनत स्वाहा हुन्थ्यो।

एकदिन मेरो प्रोफेसरले सोधे- तिमी के पढ्न चाहन्छौं ?

त्यो बेला एल्मुनियम साइन्सको धेरै चर्चा थियो । तर, मले मैले ‘एल्कोवा’ पढ्छु भनें ।

बुबाले पठाएको चिठ्ठी साथमै थियो । क्लासमा बुबाको चिठ्ठी अर्थात् पशुपतिनाथको बेलपत्र खोलेँ । त्यसमा थियो, ‘छोरा यदि तिमीललाई साइन्स नै पढ्नु छ भने एल्कोहल (रक्सी)को पढ । म त्यसको पनि खर्च तिर्छु ।’

प्रोफेसरले सोधे- एल्कोवा मिस्टर साह ?

‘नो सर’ मैले भने, ‘एल्कोहल ।’

प्रोफेसरले मलाई नेसनल डिष्टिलर्समा इन्टर्नको रुपमा नियुक्त गरिदिए । किनकी, उनी त्यो कम्पनीको उपाध्यक्ष थिए ।

मलाई भाग्यले पनि साथ दियो । किनभने, त्यो चिठ्ठी केही दिनपछि मात्रै आएको भए पनि म एल्मुनियम विषय पढिरहेको हुन्थेँ।

मेरो जिन्दगीमा भाग्यले पनि मलाई धेरै दिशानिर्देश गर्यो । फेरि मैले त्यहाँ काम गर्दा पनि धेरै राम्रा गुरु र मेन्टरहरु पाएँ । एकजना डा. रफेल कार्टसन थिए । उनी रक्सीको शीर्ष डिजाइनरका रुपमा स्थापित थिए । उनले मेरो हात समाति-समाति रक्सीको डिजाइन गर्न सिकाए । उनले अर्को एउटा कुरा पनि सिकाए कि- साइन्समात्रै रक्सी होइन, रक्सी भनेको एउटा कला पनि हो । टेस्ट (स्वाद लिन), स्मेल (सुँघ्न) उपदेश दिए।

त्यसपछि मैले विभिन्न कम्पनीमा काम गरें । इन्टर्नसिप लिएँ । गुरु पनि एकसेएक भेटें । हामी गुरुलाई त भगवान मान्छौं, ढोग्छौं। यो हाम्रो एसियन कल्चर हो । जो-जो मेरो गुरु भएँ, उनीहरुलाई त मैले साँच्चैको देवता सम्झिएँ । उनीहरु मलाई ‘तिमी त कस्तो सोझो छौं, प्रोफेसरलाई कति माया गर्छौं’ भन्थे । उनीहरुले काम लगाउने क्रममा राम्रोसँग चिनिएका कर्पोरेटहरुको गोप्य डकुमेन्टहरु पनि मलाई दिन थाले । यो मेरा लागि एउटा छलाङसहितको सुरुवात थियो ।

अहिलेको पुस्तालाई आफ्नो इतिहास र संस्कृतिलाई नबिर्सिन अनुरोध गर्छु । किनभने, यो धेरै नै आवश्यक छ । तपाईं जे हुनुहुन्छ, यसकै कारण हुनुहुन्छ । बाबु बाजेले दिएको तालिमबाट मैले धेरै ज्ञान पाएको छु, जुन विश्वविद्यालयबाट पाउने थिईंन ।

यसरी जन्मियो रुस्लान भोड्का

रक्सीको बिजनेस भनेको धेरै गोप्य बिजनेस हो । भोड्का कसरी बनाउने, ह्विस्की कसरी बनाउने, जिन कसरी बनाउने ? यो केवल पुस्तान्तरण हुँदै आएको थियो । कहि न कहिँ, कसै न कसैको त ब्रेक हुनुपर्यो । परम्परागतमा सबै कुरा कसैले पनि यत्तिकै दिँदैनथ्यो ।

रक्सीकै बिजनेश गर्ने सोच लिएर सन् १९६९ सेप्टेम्बरमा म अमेरिकाबाट फर्किएँ । त्यसबेला यहाँ नेपाल डिष्टिलरी थियो । मेरो बुबाको पनि रक्सीको आफ्नै बिजनेश थियो । नेपालको पहिलो मोर्डन डिष्टिलेसन एउटा चिनी मिलले ल्याएको थियो भैरहवामा । मोर्डन डिष्टिलेसनमा बेलायतको ब्लेयर्स प्लान्सको लायन्स एण्ड सन्स् आयो । त्यहाँ अंग्रेजहरु काम गरिरहेका थिए । हाम्रै सानो जाउलाखेल डिष्टिलरी पनि थियो ।

प्रविधिका हिसाबले मेरो बुबाको सिस्टम पनि उनीहरुको भन्दा कम थिएन । यद्यपि मैले सोचेँ कि- उनीहरुसँग कसरी प्रतिस्पर्धा गर्ने ? यी मान्छेहरुसँग वर्षौंदेखिको अनुभव थियो । म रम बनाउन जाऊँ भने खुकुरी रमसँग झगडा पर्छ । मजस्तो फुच्चे कसरी प्रतिस्पर्धा गर्नु ?

त्यसैले मैले एउटा निस मार्केट (छुट्टै फरक क्षेत्र) खोज्नु पर्ने थियो । त्यसैको खोजीमा म यात्रा गर्न थालें । रक्सीको बिजनेस खोज्न म देशभर डुलेँ । जनकपुरको सडकमा धेरै वटा भोड्काको बोतलहरु देखेँ । र, भनें- वाऊ ।

इञ्जिनियरहरुले खाएर भोड्काका बोतल सडकमा फालेका रहेछन् ।

रम उत्पादन गरौं भने नेपाल डिस्टीलरीसँग फाइट गर्न सक्दिन । जिन बनाऔं आफ्नै बुबासँग प्रतिस्पर्धा गर्नुपर्छ । ह्विस्कीमा त्यस्तै प्रतिस्पर्धा छ । सोचेँ- किन लड्ने ? र, भोड्का उत्पादन गर्ने निर्णयमा पुगेँ । साधारण प्लान्टले भोड्का बन्न सक्दैनथ्यो।

भोड्का बनाउन उच्च गुणस्तरको रिफाइन्ड एल्कोहल चाहियो । रम वा ह्वीस्की बनाउन त्यतिधेरै रिफाइन्ड एल्कोहल पनि चाहिन्न। पटस्टिलले पनि काम चल्छ ।

बुबाले दिनुभएको त्यो २० लाख

बुबालाई सोधें, ‘मलाई २० लाख रुपैयाँ चाहियो । एक पैसा पनि बेइमानी गर्दिन ।’

बुबाले भन्नुभयो- ‘तिमीलाई २० लाख रुपैयाँ दिन्छु । जग्गा पनि दिन्छु । तर, एउटा शर्त मान्नुपर्छ ।’

त्यो के हो ? मैले सोधेँ ।

बुबाले भन्नुभयो- मलाई बैंकले भन्दा १ प्रतिशत बढी ब्याज दिनुपर्छ ।

एकछिन त म अकमक्क परेँ ।

बुबाले थप्नुभयो, ‘बैंकमा गयो भने तिमीले ब्याजमात्रै तिर्नु पर्दैन, बिजनेसको सबै चिज दिनुपर्छ । प्रोजेक्ट रिपोर्ट दिनुपर्छ । त्यसका लागि पनि खर्च लाग्छ । मलाई प्रोजेक्ट रिपोर्ट–सिपोर्ट केही पनि चाहिन्न । तिमीले मलाई बैंककोभन्दा १ प्रतिशत बढी ब्याज दिनुपर्छ ।’

मैले हुन्छ भने ।

‘तिमीले पनि मेरै काम गर्यौं, मैजस्तो गर्यौं भने अमेरिका पढाएको के काम ?,’ बुबाले भन्नुभयो- ‘यदि मलाई तिर्न सक्यौं र नाफा पनि बनायौं भने मात्रै तिमीले पढेको शिक्षाप्रति धेरै गर्व गर्नेछु ।’

त्यो चाहिँ उहाँले मेरो परीक्षा लिनुभएको थियो । रमाइलो के छ भने, बुबाले मलाई दिएको पैसा गनेर मात्रै लेऊ भन्नुभयो । गन्दाखेरि त्यसमा एउटा नोट कम थियो । त्यो उहाँले जानीजानी गर्नुभएको रहेछ । मलाई सधैं भन्नुहुन्थ्यो- जे गल्ती गर्नुछ मेरो जीवनमा गर, कम्तीमा म त्यसको भार लिनसक्छु । तिमी भर्खरको केटाकेटी छौ, तलमाथि भयो भने आफ्नै खुट्टामा बञ्चरो हानेजस्तो हुन्छ ।’

बुबाले मलाई रुवाई-रुवाई बिजनेशका प्राक्टिकल कुराहरु सिकाउनुभयो । त्यो जमानाको र अहिलेको बिजनेश इथिक्स आकाश-जमिनको फरक लाग्छ मलाई ।

सन् १९७० बाट म बुबाले दिएको २० लाख रुपैयाँ पुँजी बोकेर भोड्का उत्पादन गर्ने प्लान्ट लगाउने काम सुरु गर्न थालेँ ।

लाइसेन्स बुबाले एप्लाई गर्नु भएको थियो तर नबनाएका कारण ९ महिनामात्रै समय बाँकी थियो । म प्लान्टको डिजाइन गर्न थालेँ । कलेजमा पढेको र गुरुले सिकाएको ज्ञानको समिश्रण गरेर मैले त्यो पहिलो डिष्टिलेसन बनाएँ । सन् १९७० सालमा त्यो मात्रै केमिकल इञ्जिनियरिङको दृष्टिकोणबाट हेर्दा डिजाइन र संरचनामा यति परिष्कृत (सोफेष्टिकेटेड) प्लान्ट थियो । धेरै उच्च गुणस्तरको थियो । भारतमा समेत यस्तो सोफेस्टिकेटेड प्लान्ट थिएन । अन्य छिमेकी देशहरुमा पनि थिएन । यसले एकदमै उत्कृष्ट एल्कोहल बनाउँथ्यो, जुन भोड्काका लागि उपयुक्त थियो ।

कुनै पनि प्रतिस्पर्धा थिएन । कति उत्पादन गर्ने भन्ने मात्रै थियो । उत्पादनको कमी थियो, बजारको कमी थिएन । म आफूलाई भाग्यमानी ठानिरहेको थिएँ ।

जब २२ लाख घुस मागियो

प्लान्ट बनाउने बेलामा पानी असाध्यै पर्यो । सबै कम्पाउन्ड त्रिपालले छोपेर दिनरात, घामपानी नभनी रोइरोइकन मैले त्यो डिष्टिलरी बनाएँ।

तर, जब चलाउने समय आयो । त्यसबेलाको डाइरेक्टरसाहेबले २२ लाख घुस मागे । सोच्नुस त, सन् १९७०/७१ सालमा २२ लाख घुस, त्यो पनि २० लाख गर्च गरेर बनाएको उद्योगसँग । रुनलाई मेरा आँखामा आशु थिएनन् । अल्लारेपन थियो । युवाको जोश थियो । घुस दिन सक्दिन भनेँ । मेरो डिष्टिलरी रोकियो ।

म कुन कुन मन्त्री, कुन कुन सचिव, कुन कुन डाइरेक्टरकोमा दौडिँन ? मेरो त सर्वश्व त्यहि थियो । बुबाप्रतिको मेरो बाचा थियो, उहाँले मलाई दिनुभएको पैसा फिर्ता गर्नुपर्ने । अमेरिका भागेर जान एकदमै सजिलो थियो । त्यहाँ मेरो जागिर थियो । सबै थोक थियो ।

अमेरिकामा मेलै धेरै आरामदायी जीन्दगी बाँच्न सक्थेँ । तर, यो देशमै केही गर्नुपर्छ, बरु लड्नुपर्छ, भिड्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ। आकाशमा पुग्छु, म छलाङ लगाउँछु भन्ने सोचले काम गरिरहेको मलाई सुरुमै लडेर चोट लाग्यो ।

सेडाक भन्ने एउटा संगठनले ‘हामीले किन पञ्चवर्षीय योजनाको लक्ष्य पूरा गर्न सकेनौं’ भन्ने शीर्षकमा गरेको कार्यक्रममा म पनि उपस्थित भएको थिएँ । मधुकर शमशेर राणा, पशुपति शमशेर राणालगायत हुनुहुन्थ्यो । स्वर्गीय हुलासचन्द्र गोल्छाजीलाई बोल्न दिइयो । अन्तिम मिनेटमा उहाँले बोल्न मान्नु भएन । र, मलाई बोल्न भनियो । मलाई पञ्चवर्षीय योजना के हो भन्ने पनि थाहा थिएन । आफ्नो योजना फेल भएको बेला देशको पञ्चवर्षीय योजना पढ्न के इच्छा ? सबै सचिवहरु त्यहाँ थिए । मभित्रको ज्वालामुखी विष्फोट भयो ।

मैले भने- पञ्चवर्षीय योजनामा के गलत छ ? घुसखोरी ।’ त्यो फोरममा यस्तो बोल्ला भनेर कसैले पनि सोचेका थिएनन् । सबैजना छक्क परे ।

अनि मैले मेरो पूरा कथा सुनाएँ । मर्नै छ भने राम्रोसँग मरौं, न कि घिटीघिटी । मैले सत्य बोलेँ, मेरो आँखाबाट आशु झर्न थाल्यो । आवाज पनि परिवर्तन भयो । त्यो सबै कुराको टेप (रेकर्ड) गरिएको रहेछ ।

घुस माग्नेलाई राजाले बर्खास्त गरे

मैले बोलेको विषयमाथि छलफल भयो । दरबारको अगाडि जाँचबुझ केन्द्र थियो । जाँचबुझ केन्द्रमा युवराज विरेन्द्र थिए ।विरेन्द्रले सुनेपछि राजा महेन्द्र कहाँ त्यो अडियो पुग्यो । दरबारबाट मलाई बोलाइयो । मैले राजासामू मेरो त्यहि कथा दोहोर्‍याएँ ।

मेरो कुरा सुनिसकेपछि अनुसन्धान गर्ने विश्वास दिलाउँदै राजा महेन्द्रले भन्नुभयो- सरी, देशबाट तिमीसँग यस्तो अन्याय भयो। भाग्ने काम नगर । यहिँ बस । उद्योग चलाउ ।

केटाकेटीको रिस देखेर राजाले थप्नुभयो- के गर्यो भने तिमी विश्वास गर्छौं ?

‘सरकार यस्तो मान्छेलाई भविष्यमा अयोग्य ठहरिने गरि आदेश दिनुपर्छ,’ मैले राजासामू बिन्ती बिसाएँ ।

राजाले मेरो बिन्ती बुझिदनु भयो । मेरो विश्वास जित्नुभयो । म नेपालमा बस्नुको कारण पनि त्यहि हो । नत्र अमेरिका जानलाई तयार थिएँ।

मसँग घुस माग्ने मान्छेलाई अयोग्य घोषणा गरियो । उसलाई बर्खास्त नै गरिदिए राजा महेन्द्रले । मलाई लाग्छ, त्यो बेलामा किर्तिनिधि विष्ट प्रधानमन्त्री थिए ।

अहिले त कहाँ कहाँ दौडिनुपर्छ । अहिले कसैले यसरी न्याय पाउने ठाऊँ छ ? ०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराईको सरकारले लाइसेन्सराज अन्त्य गर्यो । त्यो एकदमै उत्कृष्ट काम थियो । त्यो बेलाको नेपालको आर्थिक विकास ‘मेटाफोरिक’ छ । बिजनेस गर्न पनि सजिलो थियो । कर्मचारीतन्त्रमा पनि देश बनाऔं भन्ने जोश थियो । उद्योगपति, व्यापारी, शिक्षक हरेक क्षेत्रका मान्छेमा जोश थियो । तर, बिडम्बना त्यो जोश विस्तारै हराउँदै गयो । अहिले त उद्योग गर्नुभन्दा अगाडि कयौंपटक सोच्छौं हामी ।

उत्कृष्ट बन्ने रणनीति

त्यसबेला बारुदखाना बनिरहेको थियो । बारुदखानालाई सिंहदरबारबाट सारियो । बारुदखानामा शुद्ध रक्सी मागियो । सन् १९७० को दशकको मध्यतिर वीरगञ्ज चिनी मिल लगायत आइसकेका थिए । तर, हाम्रो रक्सी छानियो । आफ्नो देशको सुरक्षालाई दिन पाएपछि मैले नाफा राखिनँ । मलाई बाँच्न पुगे हुन्छ । मेरो खर्च जो छ, त्यो दिनुस् भनेपछि मैले ठेक्का पाएँ । धेरै साथीहरुले भने- तिमी त कस्तो मुर्ख, यतिको नाफाको बिजनेसमा लागतमै दिने ? आफ्नो देशको सुरक्षा हरेक नेपालीको कर्तव्य भएको ठानेर मैले बारुदखानाका लागि लागतमै दिएँ । त्यसबेलामा बारुद खानाको गोली विदेशमा पनि बिक्यो । हङकङ लगायतका देशका सेनाले नेपालको गोली प्रयोग गर्‍यो । मलाई यसमा गर्व छ ।

श्रीमती म्यागी, छोरा राजबहादुर र बुहारी रहीसाका साथ विजयकुमार ।

मेरो एउटै लक्ष्य उत्कृष्ट हुनुपर्छ भन्ने थियो । कुनै पनि कम्प्रमाइज नगर्ने । हिँजो के सिकियो, जे प्रयोग गरियो, जेजति पढियो-लेखियो, त्यो पूरानो भयो आजका लागि । त्यसैले नयाँ चिज के दिने ? गुणस्तर कसरी राम्रो बनाउने ? कसरी अरुभन्दा अग्रस्थानमा आउने ? म सधैं यसैमा केन्द्रित हुन्थेँ । त्यो संस्कृतिलाई आजसम्म राखिरहेको छु । मेरो छोरामा पनि छ, हाम्रो पारिवारिक बिजनेशमा मेरो छोरा छैठौं पुस्ता हो । वास्तवमा बुबाले दिएको त्यो २० लाख रुपैयाँबाट त आज मेरो क्षमता धेरै बढीको भयो । अर्बौंको भयो । हामीले करोडौं रुपैयाँ पैसा रिचर्स र डेभलपमेन्टमा खर्च गर्यौं । उपकरणमा मात्रै होइन, कर्मचारीको तालिममा पनि करोडौं खर्च गरेका छौं । आज भोड्का जाउलालेख ग्रुप अफ इन्ड्रस्टिजको एउटा पहिचान बनेको छ। किनभने, नेपालीहरुलाई भोड्का खान हामीले नै सिकाएका हौं ।

रिसर्च र उत्पादन मेरो, मार्केटिङ श्रीमतीको

तपाईं भोड्काको दाम सोध्नुहुन्छ भने त्यो मलाई थाहा छैन । कार्यकारी निर्देशक शसिनजीले मलाई कहिल्यै दाम भन्नुहुन्न । ‘तपाईंको काम रिचर्स गर्ने, राम्रो बनाउनुस् । कति दाम राखेर कसरी बेच्ने भन्ने मेरो काम हो’ भन्ने जवाफ दिनुहुन्छ । म पूर्णरुपमा नियमित व्यवस्थापनसँग अनविज्ञ छु । म सधैं मेरा उपकरणहरुलाई माया गर्छु । हामीसँग उत्कृष्ट उपकरण छन् ।

२८ फेब्रुअरी १९७० मा अमेरिकी नागरिक म्यागीसँग विवाह भयो । त्यही दिन राजा विरेन्द्रको विवाह भएकाले राजा र जनताको विवाह एकै दिन गर्नु हुँदैन भनेर हामीले भारत गएर विवाह गरेका थियौं । मेरो श्रीमतीले पनि एकदमै क्रिटिकल भूमिका निभाइन्। अमेरिकन भएर पनि मेरो बुबा र आमाको उनले असाध्यै राम्रो ख्याल राखिन् । बुबाले भन्नुहुन्थ्यो- मेरो घरमा बुहारी होइन, छोरी आएकी छ ।

उनले मलाई बुझिन् । विवाह भएको अर्को दिन विहान ४ बजे बुबाले रौतहटको गौरमा भएको व्यापारमा संकट आएको छ भन्नुभयो । हाम्रो हनिमुनको दिन थियो । यद्यपि श्रीमतीले मलाई जान अनुमति दिइन् । उनले भनिन्- मेरो ड्युटी त यहाँ छ । मैले तिम्रो आमाबुबा, भाईबहिनीको ख्याल राख्नुपर्छ । त्यसैले म यहि बस्छु भनेर हाँसीहाँसी बिदा गरिन् ।

हामी सँगै हुनुको शक्ति पनि यहि हो । अहिले पनि व्यापारमा उसले कहिल्यै अवरोध गर्दिनन् । मैले यहाँ जानुछ, यो गर्नुछ, ल्याबमा काम छ भन्दा उनले त्यो तिम्रो प्रोफेसन हो भनेर सहजै लिन्छिन्, त्यसैले अफिस आउनु मेरो लागि सधैं मजाको हुन्छ।

म ठूलो कि श्रीमती ठूलो भन्ने छैन । हामी एक हौं । त्यसैले पनि उनले बिजनेसमा सहभागिता जनाइन् । पहिले त काठमाडौं, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज र भैरहवा मुख्य व्यापारको ठाउँ थियो । विदेशी भएकाले उनको नेपाल घुम्ने धेरै इच्छा थियो ।

त्यसपछि उनी यात्रा गर्न थालिन् । तिमी प्रोडक्सनमा लागेका छौं, रिचर्समा लागेका छौं । कोही न कोही त मार्केटमा हुनुपर्यो भनेर उनी गाउँ-गाउँमा यात्रा गर्न थालिन् । सबै साहुनीहरुको नाम लिने । उसको छोराको नाम लिने । कहिले चकलेट कहिले के लिएर जाने । म्यागीको मार्केटिङ कलाकै कारण हो, पहिलो पटक नेपालको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, हुम्लाजस्ता ठाउँमा पनि हाम्रो रक्सी पुगेको हो । म त ब्याकग्राउन्डमा प्रोडक्सनमा थिएँ । बजारीकरण, म्यानेजमेन्टको नेतृत्व उनैले लिइन्।

छोरालाई सिकाएको पाठ

जब मेरो छोरा बिजनेशमा आयो तब म रिटायर्ड जस्तै छु । बिजनेशमा आउनासाथ मैले छोरालाई भनेको थिएँ- ‘तिमी त अहिले भर्खरै कलेजबाट आएका छौं । लेखपढ भए पनि अनुभव छैन । नेपालमा व्यापार गर्न प्राक्टिकल अनुभव चाहिन्छ । र, नेपालमा बिजनेस गर्नलाई तिमीले नेपाली ढंगले सोच्नुपर्छ । युरोप, अमेरिकाजस्तो होइन । तिमीले नेपाली राजनीतिकर्मी र कर्मचारीतन्त्रसँग डिल गर्नुपर्ने हुन्छ । माइन्डसेट चेन्ज गरेर आऊ । तिमीले पश्चिमा संस्कृति बुझ्यौं, अमेरिकी शैली बुझ्यौं । त्यो राम्रो हो । अब तिमी अन्तरआत्माबाट नेपाली बन ।’

मेरो यो भनाइले छोरा र छोरीलाई दुबैलाई परिवर्तन गरायो । दुबैले एडप्ट गरे । व्यवसायमा हामी जम्दै गयौं । हामी थप पारदर्शी बन्दै गयौं । राज्यलाई कर तिर्नुपर्छ र बचेको नाफामात्रै आफूले लिनुपर्छ भन्ने मान्यतामा हामी काम गरिरहेका छौं । सबैभन्दा बढी कर तिर्ने व्यक्तिकारुपमा राज्यबाट सम्मानित पनि भएको छु ।

सातौं पुस्तासम्मले लिगेसी धान्छ

मेरा तीनजना नातिनी छन् । अब उनीहरुले कसरी यसलाई निरन्तरता दिन्छन्, भविष्यवाणी गर्न मलाईं गाह्रो छ । तिमीहरुलाई जे गर्न मन लाग्छ त्यो गर । किनकी, तिम्रो जीन्दगी हो, तिमीलाई निर्माण गर्नुपर्छ भनेर नातिनीहरुलाई भन्ने गरेको छु । हजुरबुबा, हजुरआमाको रुपमा हाम्रो कर्तव्य भनेको राम्रोसँग पढ भन्ने अर्थात् स्वतन्त्र शिक्षा होस् भन्ने हो । जबर्जस्ती गर्ने होइन । एउटा नातिनीले चाहिँ मदिराकै बिजनेशमा रुचि राखेको अनुभूति गरिरहेको छु । त्यसैले मनमनै सोच्छु बाबुबाजेले गरेको बिजनेश कम्तिमा सातौं पुस्तासम्म चाहिँ निरन्तर हुनेभयो । त्यसपछि त के हुन्छ थाहा छैन ।

प्रत्येक दिन रक्सी खान्छु

म हरेक दिन रक्सी खान्छु । आफ्नो कम्पनीले उत्पादन गरेको रक्सीको स्वाद लिने म पहिलो मान्छे हुँ । हरेक दिन केही थोपा लिन्छु । सुँधेर मात्रै हुँदैन । तपाईंले त्यसलाई आफ्नो जिब्रोमा राख्नुपर्छ र त्यो तलसम्म जानुपर्छ । अब त बानी भइसक्यो।

ल्याबमा भएका सहकर्मीहरुले पनि मसँगै स्वाद लिन्छन् । अहिले त धेरै प्रोफेसनलहरु आइसके । तर, मैले यो काम ४०/४५ वर्षदेखि गरिरहेको छु । मस्तीले खायो पियो।

बुबाको समयमा उहाँले बोलाएर छोरा आज सँगै ड्रिंक गरौं भन्नुहुन्थ्यो । अहिले आफ्नो छोरा राजसँग कहिलेकाहीँ सँगै बसेर पिउँछु । मलाई भोड्का मन पर्छ । तर, म राम्रो ह्विस्की पनि इन्जोय गर्छु । राजले भन्छ- बुबा ह्विस्की पिउनुस् । तर, मलाई केमेस्ट्रीको बारेमा लेक्चर नदिनुस् वा ह्विस्की बनाउने बारेमा नभन्नुस् । इन्जोय गरौं ।

रक्सी धेरै राम्रो चिज हो, यदि तपाईंलाई यो के हो भन्ने थाहा छ भने । कसरी पिउने, कसरी सर्भ गर्ने, कसरी इन्जोय गर्ने भन्ने हुन्छ। आगोसँग खेलेजस्तो हो । रक्सी तपाईंभन्दा कमजोर छ भन्ने सोच्नु हुँदैन । यसले जुनसुकै दिन तपाईंमाथि हस्तक्षेप गर्न सक्छ । तर, यदि तपाईंले रक्सी ‘सोसियल्ली, रोस्पोन्सीब्ली र इन्टेलिजेन्ट्ली’ पिउन जान्यो भने बडो रमाइलो हुन्छ । दिमागमा अलिकति लाज, भय र डर छ भने त्यसलाई हटाउन आधा पेग खाइहाल्नुस् । तत्कालै त्यसले तपाईंभित्रको समाजको कारणले दबाइराखेको विचारशक्ति निस्किन्छ । त्यो बेलासम्म तपाईं एकदम सिर्जनशिल हुनुहुन्छ ।

कहिलेकाँही मलाई प्रेसरको कारण गाह्रो हुन्छ । बसेर मेडिटेसन गर्न सक्दिनँ । त्यस्तो बेला ‘ओके भगवान, धतुरो तो नही खाएंगे शिवजी’ भनेर एक ट्वाक खाइहाल्छु । रोगहरुका कारण औषधी खाइरहेको छु । म एकपेगभन्दा धेरै खान हुँदैन । दिनभरी त रक्सी सुँध्ने काम हो । सुँघ्दा सुँघ्दा हैरान भहालिन्छु । सुँघ्ने र विश्लेषण गर्दा धेरै इनर्जी खर्च हुन्छ । मेरा लागि रक्सी भनेको फन ड्रिंक हो । यसले मलाई इनर्जी दिन्छ ।
(जाउलाखेल ग्रुप अफ इन्डष्ट्रीजका अध्यक्ष विजयकुमार साहसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु