सूर्यदर्शन सहकारी ठगी प्रकरणः गैरसदस्यलाई ६० करोड ऋण, जिबी राईको कम्पनीले साढे ५ करोड



काठमाडौं । बचतकर्ताको करिब डेढ अर्ब ठगेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले प्रक्रिबिना नै अर्बौं रुपैयाँ कर्जा लगानी गरेको पाइएको छ ।

करिब १८ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ ठगेको सहकारीले कानून विपरित बिनाप्रक्रिया गैरसदस्यलाई ६० करोड १३ लाख ६७ हजार ३२४ रुपैयाँ कर्जा दिएको पाइएको छ । उक्त कर्जामा पनि सहकारीका पूर्वअध्यक्ष गितेन्द्र बाबु (जिबी) राईका विभिन्न ३ कम्पनीले नै ५ करोड ४६ लाख २९ हजार ६१० रुपैयाँ कर्जा कानूनविपरित लिएको पाइएको छ ।

सहकारीले सहकारी ऐन विपरित ६३ व्यक्ति तथा कम्पनीलाई गैरसदस्य कर्जा दिएको छ । त्यसमा ग्यालेक्सी फोर के टेलिभिजनका प्रमुख जिबी राईको ३ वटा कम्पनी रहेका छन् । सहकारीले नेचर अर्बसलाई तीन पटक कर्जा दिएको छ । तीन पटकमा २ करोड ५० लाख, गोर्खा मिडिया नेटवर्कलाई दुई पटकमा २ करोड ३० लाख ८९ हजार र ग्रिजी स्पुनलाई ६५ लाख ४० हजार रुपैयाँ कर्जा दिएको छ । जुन कानून विपरित छ ।

सहकारी ऐन २०७४ को दफा १२५ को ‘ज’ मा सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा वा गैरसदस्यसँग कारोबार गर्न नपाइने जनाएको छ । कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा वा गैरसदस्यसँग कारोबार गरेमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।

सहकारी ऐन नियम नियमावली अनुसार प्राथमिक पुँजीकोषको १० प्रतिशतभन्दा बढी रकम एउटै व्यक्तिलाई कर्जा उपलब्ध गराउन नपाउने प्रावधान रहेको छ । तर सहकारीले उक्त प्रावधान विपरित दिएको पाइएको छ ।

त्यस्ता कर्जा कारोवार विभिन्न मितिमा संस्थाका सञ्चालक तथा कर्मचारीले लगेका पेश्की रकम फ्छयौट गर्नका लागि खडा गरिएका कर्जा विभिन्न पुरानो मितिदेखि कारोबार नभएका कर्जा खाता तथा सञ्चालक, पूर्व सञ्चालक, कर्मचारी, प्रकृया विनाका प्रयोग गरिएको पाइएको छ । यस्ता कर्जामा कतिपयको तमसुकसमेत नपाइएको अध्ययन प्रतिवेदनमा उल्लखे छ ।

सहकारीले बिनाप्रक्रिया गैरसदस्यलाई समेत कर्जा दिएको छ । सहकारीले संस्थामा सदस्य नबनाइ कर्जा दिएको अध्ययनले देखाएको छ ।

बचतकर्ताको करिब डेढ अर्ब ठगेपछि बचतकर्ताले साउन २२ गते कास्की प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अध्ययनपछि सहकारीका सञ्चालक राईसहित १९ जनालाई प्रतिवादी बनाएको छ । १९ जनालाई नै पक्राउ पुर्जी जारी भएको छ ।

अहिलेसम्म सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पक्राउ गरेको छ । सहकारीको अध्यक्षमा अहिले थानबहादुर बुढा मगर रहेका छन् । अहिले अध्यक्ष सहित १७ जना प्रहरीको फरारको सूचीमा रहेका छन् ।


क्लिकमान्डु