वैदेशिक रोजगारीको नाममा १० करोड बढी ठग्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै १० करोड भन्दा बढी ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर कोन्जोसोम गाउँपालिका–१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौंको महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टरका संचालक लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी पैसा ठग्ने गरेको पाइएको छ । युवाहरुलाई ठगेर फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ शंखमूलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु