दरबारमार्गका पसल अनिश्चितकालको लागि बन्द (विज्ञप्तिसहित)




काठमाडौं । दरबारमार्ग क्षेत्रका सम्पूर्ण पसलहरु अनिश्चितकालका लागि बन्द भएका छन् । ब्राण्डेड शपका ब्यापारीले बढी नाफा खाएको भन्दै आपूर्ति ब्यवस्थापन विभागले केही पसलमा सिलबन्धी गरेको विरोधमा सबै पसल बन्द भएका हुन् ।

दरबारमार्ग विकास बोर्डले निर्णय गरेर सो क्षेत्रका सबै पसल अनिश्चितकालका लागि बन्द गरिएको हो । सरकारले ब्यापारीहरुलाई अनावश्यक दुःख दिएर बद्नाम गर्ने प्रयास गरेपछि बाध्य भएर पसल बन्द गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले बताए ।

‘सरकारले जुन किसिमको हर्कत गरेको छ, यो निन्दनीय छ, ब्यापारीहरुलाई बद्नाम गराउने र आतंकित पार्ने काम रोक्न दबाब दिनको लागि यो क्षेत्रका सबै पसल बन्द गरेर ऐक्यबद्धता जनाउने निर्णय भएको छ, सरकारले शिलबन्दी गरेका पसल खोलेर सहज रुपमा ब्यापार ब्यवसाय गर्न दिएपछि सबै पसल एकैपटक खुल्छन्,’ अध्यक्ष कक्षपतीले क्लिकमाण्डूसँग भने ।

बोर्डले आजै विज्ञप्ति जारी गर्दै अनिश्चितकालसम्मको लागि सवै पसल बन्द गरिएको जानकारी दिएको छ । दरबारमार्गमा संचालित पसलहरुमा कुनै समस्या भए पहल गर्नको लागि बोर्ड तयार भएपनि कुनै समन्वय नगरी एकतर्फी ढंगबाट सिलबन्दी गर्ने काम भएको भन्दै बोर्डले विरोध जनाएको हो ।

सरकारको यस्तो रबैयाले अन्तराष्ट्रिय ब्राण्डको समेत खिल्ली उडाउने काम भएको बोर्डको भनाइ छ । सरकारको यस्तो कार्यले बर्षाैंदेखि सो क्षेत्रमा ब्यापार गरेर राज्यलाई कर बुझाउँदै आएका ब्यापारीहरुको गरिमामा आँच आएको तथा ठूलो लगानी समेत डुब्ने अवस्था आएको बोर्डले दाबी गरेको छ । साथै ब्राण्डका लागि अन्तराष्ट्रिय जगतले दिएको भरोसा र विश्वासलाई समेत क्षति पार्ने काममा राज्य लागेको बोर्डको आरोप छ ।

‘हिन्दुहरुको महान चाड बडादशैंको पूर्वसन्ध्यामा राज्यबाट भएको यो आतंकले ब्यापार ब्यवसायीलाई मात्र होइन, किनमेलका लागि आउने ग्राहकलाई समेत अप्ठेरोमा पारिदिएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु