कम्पनी ऐनभन्दा सेबोनको नियमावली ठूलो हुँदैन, नीतिगत भ्रष्टाचार भयो: सांसद सिंह



काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले कम्पनी ऐनभन्दा नेपाल धितोपत्र बोर्डको नियमावली ठूलो नहुने भन्दै प्रिमियममा सेयर निष्काशन गर्न दिएर नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले बोर्डले नियमावली संशोधन गरेको १८ दिनमा हिमालयन रिले प्रिमियममा सेयर निष्कासन गरेको बताए ।

घोराही सिमेन्टमा फर्जी आवेदन पर्दा पनि अध्ययन प्रतिवेदन गोप्य राखेर सेयर जारी गर्न दिइएको भन्दै उनले रेटिङ नै रद्द भएको कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गरेको आरोप लगाए ।

‘नियमनकारी निकाय जनता लुट्ने र केही घरानालाई कसरी कमाउन दिने भनेर लागे,’ उनले भने, ‘हिमालयन रि इन्स्योरेन्स लगायत ५ कम्पनीलाई लाइसेन्स दिँदा कानुन उलंघन भएको छ ।’

सेबोन र बिमा प्राधिकरणले प्रतिबन्धात्मक वाक्यांशको उल्लंघन गरेको उनको भनाइ छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्य हरि ढकालले कागजमा मात्रै नाफा देखाएर धितोपत्र बोर्डले प्रिमियममा सेयर निष्काशन गर्न दिइएको दाबी गरे । कम्पनी रेटिङ सेटिङमा हुने गरेको भन्दै उनले रेटिङ रद्द गरेको कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गरेको आरोप लगाए ।


क्लिकमान्डु