भित्री कारोबार गरेको भन्दै एलआईसी नेपालका व्यवस्थापक र सञ्चालकविरुद्ध बोर्डमा उजुरी



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका उच्च व्यवस्थापक र सञ्चालकले भित्री कारोबार गरेको भन्दै धितोपत्र बोर्डमा उजुरी परेको छ ।

कम्पनीका उच्च व्यवस्थापक र सञ्चालकको मिलेमतोमा हकप्रद सेयरको नाममा भित्री कारोबार भएको भन्दै छानबिन गरि कारबाही गर्न माग गर्दै उजुरी परेको हो ।

कम्पनीको उच्च ब्यवस्थापन र संचालकहरुले हकप्रद निष्कासनको नाममा कम्पनीको सेयर मूल्य करिब ३२ प्रतिशतले बढाएर १४ सय र पछि १८ सय रुपैयाँसम्म पुर्याएको दाबी उजरीमा गरिएको छ । कम्पनीको व्यवस्थापन र सञ्चालक समितिले सेयर बजारमा चलखेल गर्ने उद्देश्यसहित हकप्रद सेयरको अनुमति बोकेर ब्रोकर कम्पनीहरुमा धाउँदै सेयर बजारमा मूल्य बढाउने गरि चलखेल गरेको दाबी गरिएको छ ।

कम्पनीले २०७९ भदौ १४ गते हकप्रद सेयर जारी गर्ने घोषणा गरेको थियो । तर त्यो भन्दा २ महिना अघिदेखि नै कम्पनीको सेयर मूल्य करिब ३२ प्रतिशतले बढाएको उजुरीमा उल्लेख छ ।

कम्पनीले बीमा प्राधिकरणबाट असार १५ गते आफ्नो चुक्ता पुँजीको ८८.४५ प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति पाएको थियो ।

प्राधिकरणबाट हकप्रद सेयरको अनुमति पाएर पनि कम्पनीले करिब साढे ३ महिनासम्म सूचना लुकाएर सेयर मूल्य बढाउन खेलमा लागेको उल्लेख छ ।

प्राधिकरणबाट असार १५ गते हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको भएपनि २०८० असोज २९ गते मात्रै हकप्रद सेयर निष्काशन गर्न पाउँ भन्दै बोर्डमा निवेदन दिएको उजुरीमा उल्लेख छ ।

प्राधिकरणले मंसिर १५ गते पत्र लेखेर हकप्रद जारी गर्ने सम्बन्धी अनुमति फिर्ता लिने चेतावनीसहित ३ दिनभित्र स्पष्टीकरण बुझाउन पत्र समेत काटेको थियो ।

कम्पनीले प्राधिकरणलाई लेखेको पत्रमा नेपाल धितोपत्र बोर्डबाट ढिलाई भएकाले छिटो हकप्रद सेयर जारी गर्न नसकेको आरोप लगाएको छ ।

बोर्डमा निवेदन दिएपछि पनि कम्पनीले स्वीकृति पाउनका लागि थप ताकेता नगरेको, एकै पटक मंसिर १३ गते मात्रै बोर्डलाई अर्को पत्र लेखेर हकप्रदको अनुमति छिटो पाउँ भनेको उजुरीमा उल्लेख छ ।

उजुरीमा उच्च व्यवस्थापन र सञ्चालक इन्साइडर ट्रेडिङ गर्न लागेको भन्दै यथाशिघ्र छानविन गरि कडाभन्दा कडा कारवाही गर्न निवेदक कुमार बहादुर आचार्यले माग गरिएका छन् ।


क्लिकमान्डु