भारतीय कम्पनी ओलाको नयाँ एआई कृत्रिम सार्वजनिक, च्याटजीपीटी र बार्डलाई टक्कर दिने घोषणा



एजेन्सी । पछिल्लो समय विश्वभरमा नै विभिन्न कम्पनीहरुले आ-आफ्नै आर्टिफिसियल इन्टिलिजेन्स टुलहरु बनाउने होडबाजी नै चलेको छ ।

ओपन एआईले च्याटजीपीटीलाई सार्वजनिक जमातका लागि खुला गरेसँगै बढ्दै गएको एआईको प्रयोग र चर्चाका बीच भारतीय कम्पनी ओलाले पनि आफ्नै एआईको सुरुवात गरेको छ ।

भारतमा ट्याक्सीलगायतको व्यवसायमा संलग्न रहेको ओला कम्पनीले आफ्नै कृत्रिम नामक एआई मोडलको सुरुवात गरेको हो । ओला क्याब र इलेक्ट्रिक कम्पनीका संस्थापक भाविश अग्रवालले यो एआईको पहिलो मोडललाई सार्वजनिक गरेका हुन् । उनले आफूहरुले बनाएको एआईले च्याटजीपीटी र गुगलको बार्डजस्ता एआईलाई पनि टक्कर दिने बताएका छन् ।

शुक्रबार गरिएको ओलाको एआईको सार्वजनिकि कार्यक्रममा कम्पनीका संस्थापक अग्रवालले उक्त एआईको च्याटबट देखाएका थिए, जसले विभिन्न २२ भारतीय भाषाहरुमा कुराकानी गरेको थियो ।

च्याटजीपीटी र बार्डले जस्तै प्रश्न सोध्दा त्यसको जवाफ दिने किसिमले उक्त एआईको निर्माण भएको छ । यो एआईले हिन्दी, तेलुगु, मराठीजस्ता विभिन्न २२ भारतीय भाषा बुझ्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु