कोरोना बीमा दाबीमा झुटो विवरण, फेरि अनुसन्धान भएपछि भुक्तानी: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुन: अनुसन्धान गरेर ल्याउन भनिएको उनले बताए ।

‘कोरोना बीमाको केही दाबी झुटा छ । त्यसैले हामीले त्यसलाई फेरि अनुसन्धान गरेर ल्याउन भनेका छौं’ महतले भने ।
उनले वास्तविक विरण आएपछि बीमाको भुक्तानी हुने बताए । ‘कोरोना बीमा भुक्तानी गर्न हामी तयार छौ । तर, वास्तविक विवरण आउनु पर्छ’ महतको भनाइ छ ।

अर्थमन्त्रालयबाट दाबी भुक्तानी बापतको रकम निकासा नभएपछि २०७८ सालबाट कोरोना बीमा बापतको रकम भुक्तानी रोकिएको छ ।

सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा गर्नुपर्नेछ । करिब १ लाख बिमितले कोरोना बीमा बापतको रकम पाउन बाँकी छ ।

नेपाल बीमा प्राधिकरणले यस अघि पनि अर्थमन्त्रालयलाई कोरोना बीमा भुक्तानीका लागि बजेटमै रकम छुट्याउन सुझाव दिए पनि चालु आर्थिक वर्षको बजेटमा समावेश भएको थिएन ।


क्लिकमान्डु