राष्ट्रिय बीमा नीति २०८० जारी: प्रविधिमैत्री बीमा अवलम्बन गरिने



काठमाडौं । सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट स्वीकृत भएको राष्ट्रिय बीमा नीतिले बीमाको दीर्घकालीन विकासदेखि पुनर्बीमाको दायरा विस्तार गर्दै प्रविधिमैत्री बीमाको विकास गर्ने नीति लिएको छ ।

बीमा क्षेत्रलाई निर्देशित गर्न जारी गरिएको बीमा नीतिले बीमालाई अर्थतन्त्रको प्रमुख आधारस्तम्भको रूपमा विकास गर्दै सेवालाई सरल, सहज, पहुँचयोग्य र समावेशी बनाउने, बीमालाई आधुनिक र प्रतिस्पर्धी बनाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने, बीमा क्षेत्रको संस्थागत सुदृढीकरण, विकास तथा विस्तार गर्ने तथा वित्तीय स्थायित्व कायम गर्ने सशक्त औजारको रूपमा बीमाको विकास गर्ने र बीमा क्षेत्रलाई दिगो विकास र गरिबी न्यूनीकरणसँग आबद्ध गर्ने नीति लिएको छ ।

बीमा ऐन २०७९ को दफा ५ मा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य, अधिकारअन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी सरकारसमक्ष सिफारिस गर्ने प्रावधानअनुसार प्राधिकरणले नीतिको मस्यौदा तयार पारेको थियो ।

शुक्रबार मन्त्रिपरिषद्‍बाट राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि अब कार्यान्वयनको चरणमा पुगेको छ । नीति कार्यान्वयनको सुपरिवेक्षण अर्थ मन्त्रालयले गर्छ भने कार्यान्वयनको सुनिश्चितता बीमा प्राधिकरणले गर्छ ।


क्लिकमान्डु