एनसेल किनबेच शंकास्पद भएको सत्ता गठबन्धनको निष्कर्ष, छानबिन अघि बढाउने तयारी
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले एनसेलको सेयर खरिद-बिक्रीको कुरा गम्भीर रहेको र सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुनबमोजिम सरकारका सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुकूल खरिद-बिक्री नभएको बताए ।
सेयर खरिद-बिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको उनले जानकारी दिए ।
प्रमुख सचेतक लेखकले एनसेल सेयर खरिद-बिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्नेमा सरकार र गठबन्धन तयार रहेको बताए ।
छलफलमा प्रधानमन्त्रीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी थिए ।
त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङका साथै नेपाल दूरसञ्चार प्राधिकरण र कर कार्यालयका प्रमुखहरु पनि थिए ।