समयमै रकम भुक्तानी नगर्ने ३० दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमै रकम भुक्तानी नगर्ने दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र खारेज गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले आज सूचना जारी गर्दै नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा नगर्ने ३० वटा सेवा प्रदायक कम्पनीको अनुमपतिपत्र खारेज गर्ने चेतावनी दिएको हो ।
‘प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त देहायका सेवा प्रदायकहरुले विगत केहि वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ’ जारी सूचनामा उल्लेख छ ।
साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाइने जनाएको छ ।