जाजरकोट भूकम्प: त्रिपालमुनि बसिरहेका छन् १ हजार ७६ सुत्केरी
जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।
अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए ।
भेरी नगरपालिकामा ५ वर्षमुनिका १ हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६७४ गर्भवती, २८२ सुत्केरी, २ हजार ८३६ ज्येष्ठ नागरिक, १ हजार ६५ दीर्घरोगी र ४०८ अपाङ्गता भएका व्यक्तिसहित ९ हजार ३८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था ८ वटा पूर्णरूपमा र ८ वटा आंशिक रूपमा भत्किएको पाइएको छ ।
कुशे गाउँपालिकामा २५ हजार ८१५ जनसङ्ख्या प्रभावित भएका थिए । ७ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । ५ वर्षमुनिका २ हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ५१५ जना गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित ४ हजार ९७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । ५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा १ हजार ३५२ जनसङ्ख्या प्रभावित भएका थिए । १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । ५ वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र ९ जना अपाङ्गता भएकासहित ७४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । ८ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।
नलगाड नगरपालिकामा २९ हजार २०९ जनसङ्ख्या प्रभावित भएका थिए । ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए । पाँच वर्षमुनिका ३ हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ३३१ गर्भवती, ३७४ सुत्केरी, १ हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपाङ्गता भएका व्यक्तिसहित ३ हजार हजार ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । १ स्वास्थ्य संस्था पूर्णरूपमा र ५ वटा आंशिक रूपमा भत्किएको पाइएको छ ।
बारेकोट गाउँपालिकामा १९ हजार ६७६ जनसङ्ख्या प्रभावित भएका थिए भने १० जना घाइते भएका थिए । ५ वर्षमुनिका १ हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, २२३ दीर्घरोगी र ४५ अपाङ्गतासहित २ हजार ४१७ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् ।
पूर्ण रूपमा १ र आंशिक रूपमा ४ स्वास्थ्य संस्था भत्किएका छन् । भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जनसङ्ख्या प्रभावित भएका थिए । २ जना घाइते भएका थिए । ५ वर्षमुनिका ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, २ सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गतासहित ४४६ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । २ वटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ ।
भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा १ हजार ९५० जनसङ्ख्या प्रभावित भएका थिए । ५ वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गतासहित २८३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । १५ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको छ ।
भूकम्पबाट १ लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ । ५ वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने १ हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी १ हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । १ हजार ८३२ दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।
विवरण अझै सङ्कलन हुँदै
मंसिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरिए पनि अझै विवरण आउन सकेको छैन । पालिकाले भने मंसिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए ।
छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन् ।
पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । अबको २ दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए ।