सामाजिक सुरक्षाको रकम लगानीको सट्टा बैंकमा राखेर ब्याज खाँदै कोष



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरूले समयअनुसार कोषलाई परिमार्जन गरी व्यवस्थित गर्दै लैजानुपर्ने बताएका हुन् । उनीहरुले कोषको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको मेरुदण्ड रहेकाले सरकारले समयअनुसार सुविधा थप्दै जाने र व्यवस्थित बनाउने बताए ।

सरकारले अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि समेटिएको उनले बताए । गत चैतबाट वैदेशिक रोजगारीमा गएका ४ लाख बढी श्रमिकहरु समेटिएका छन् । उक्त तथ्यांक हेर्दा कोषतर्फ आकर्षण बढेको र आगामी दिनमा विभिन्न सुविधाको व्यवस्थित गर्ने प्रतिबद्धता उनले जनाए ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कोषलाई व्यवस्थित गरी लगानीमा जोड दिनुपर्ने बताए । कोषमा लगानीकर्ताहरुले जम्मा गरेको रकम बैंकमा राखेर व्याज खाने काम भइरहेको उनले बताए ।

कोष व्याज खानका लागि नभएको उनको भनाइ छ । त्यसैले कोषको रकमलाई परिचालन गरी लगानीयोग्य क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए ।

सर्वसाधारणलाई कोषको योजनाबारे बुझाउन नसकेको अवस्थामा सरकारले सबैतहमा सचेत गराउन आवश्यक रहेको उनले बताए।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा सोचेअनुसारको योगदानकर्ता आवद्ध हुन नसकेको स्वीकार गरे ।

विभिन्न बाधा अवरोह बीच कोषले योजनालाई फराकिलो बनाउँदै सबै श्रमिकलाई समट्ने प्रयास गरेको उनको भनाइ छ ।

कोषले वैदेशिक रोजगारका योगदानकर्तालाई प्रभावकारी बनाउन सचेतना कार्यक्रम गरिरहेको र समयअनुसार कोषलाई संशोधन गर्दै लैजाने उनले बताए । कोषले देशका विभिन्न स्थानमा कार्यालय खोल्ने तयारी गरिरहेको र देशभर नै कोषबारे जानकारी दिन कार्यक्रम गरी सचेतना दिने उनको भनाइ छ ।

नेपालको लागि आईएलओका निर्देशक नुमान ओजकानले सामाजिक सुरक्षा कोषले सम्पूर्ण श्रमिकलाई सुरक्षा दिने बताए । अनौपचारिक तथा औपचारिक क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकलाई समेट्ने भएकाले कोषबाट प्रदान गर्ने विविध योजनाको लाभ लिन सक्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषमा निजी क्षेत्रका रोजगारदाताहरू आवद्ध भएको संख्या निकै राम्रो रहेको बताए । सर्वसाधारणमा कोषबारे कन्फिडेन्स निर्माण गर्न निकै गाह्रो रहेकाले रोजगारदाता आकर्षण हुन नसकेको उनको भनाइ छ ।

देशभर रहेका अन्य कोषभन्दा सबैभन्दा ठूलो रकम संकलन गर्ने भएकाले लगानीको बाटो खुलाउनुपर्ने उनले बताए । उनले सञ्चयकर्ताको रकम डिपोजिटमा राख्नुभन्दा उपयुक्त क्षेत्र खोजी गरी लगानी गर्नुपर्ने उनले बताए । ‘रकम फिक्समा राखेको छ । अब उपयुक्त क्षेत्रको खोजी गरी उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने ।

उनले वैदेशिक रोजगारीमा गएकालाई समावेश गरेको भए पनि प्रभावकारी हुन नसकेको जिकिर गरे । सरकारले संयन्त्र बनाएर यसलाई व्यवस्थित बनाउर्नेमा उनले जोड दिए । रोजगारीमा जानेलाई कोषले कर्जा दिनुपर्ने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदानलाई व्यवस्थित बनाउनुपर्ने बताए । सीएनआईका अध्यक्ष राजेश अग्रवालले सञ्चय कोष र सामाजिक सुरक्षा कोष दुबै गाभ्ने जनाए पनि हालसम्म नगाभिएकाले बजारमा अन्यौलता छाएको बताए ।

जेटीयुसीसीका अध्यक्ष विनोद श्रेष्ठले सुरूदेखि नै कोषलाई औद्योगिक विकासको रूपमा हेरेको बताए । उनले कोषमा आवद्ध भएका तर योगदन नगर्ने योगदानकर्तालाई कारबाही गर्नुपर्ने उल्लेख गरे । साथै, उनले कोषलाई व्यवस्थित गर्दै लैजानुपर्ने जोड दिए । त्यस्तै, कोषमा आवद्ध भएको रोजगारदाता र श्रमिकलाई योगदानको आधारमा कर छुट गर्नुपर्ने उनको माग छ ।


क्लिकमान्डु