हिमालयन डिष्टिलरीको नाफा ५१.२४ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक पहिलो त्रैमासमा हिमालयन डिष्टिलरी कम्पनीको नाफा घटेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा नाफा ५१.२४ प्रतिशतले घटेर १० करोड ५१ लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २१ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

उत्पादन बिक्रीबाट हुने आय घट्दा कम्पनीको नाफामा गिरावट देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ रहेको उत्पादन बिक्रीबाट हुने आम्दानी अहिले २९.७० प्रतिशतले घटेर ९७ करोड १८ लाख १५ हजार रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको सञ्चालन नाफामा पनि भारी गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा ३० करोड ३७ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा ४८.५५ प्रतिशतले घटेर १५ करोड ६२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

२ अर्ब ४२ करोड ९५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३ करोड ४ लाख रुपैयाँ ३६ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा रहेको छ ।


क्लिकमान्डु