३० हजार रुपैयाँ प्रति शेयर भएको युनिलिभरले कति देला यो बर्ष लाभांश ? यस्तो थियो बिगत



काठमाडौं । नेपाली सेयर बजारमा एउटा यस्तो कम्पनीको सेयर सुचीकृत छ, जुन सहजै किन्न सकिदैंन । तीन कारणले ।

पहिलो, अत्यधिक महङ्गो भएको हुँदा । दोस्रो, बजारमा सेयर संख्या निकै कम भएको । र, तेस्रो अत्यधिक लाभांश दिने ब्लु चीप कम्पनी भएका कारण सेयरधनीहरुले दोस्रो बजारमा बेच्न नचाहेको ।

यो कम्पनीको नाम युनिलिभर नेपाल लिमिटेड हो, जुन हिन्दुस्तान युनिलिभर कम्पनीको सहायक कम्पनी (सब्सिडरी) हो । यो कम्पनी नेपालको उत्पादन क्षेत्रको एकमात्र ब्लु चीप कम्पनी हो । उत्पादन क्षेत्रका अन्य कम्पनीले त सेयरधनीको उठिबास लगाउने बाहेक के पो गरेका छन् र ?

कम्पनीमा हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत र नेपाली सर्वसाधारणको २० प्रतिशत सेयर छ । अर्थात, नेपाली सर्वसाधारणसँग युनिलिभरको १ लाख ८४ हजार १ सय ४० कित्ता सेयर मात्र छ ।

युनिलिभर नेपाल लिमिटेडले मानिसका दैनिक प्रयोगका बस्तुहरु– स्याम्पु, टुथपेस्ट, डिटर्जेन्ट आदि घरेलु बजारलगायत निर्यातका लागि समेत उत्पादन गर्नेगर्छ । यो कम्पनीको केही चर्चित उत्पादनहरु भनेको सनसिल्क, लक्स, फेयर एण्ड लभ्ली आदि हुन् ।

९ करोड २० लाख ७० हजार रुपैंयाँ चुक्ता पुँजी भएको कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सयर नेप्सेमा सुचीकृत छ ।

प्रतिकित्ता २९ हजार ९ सय ५० रुपैंयाँ सेयर मुल्य भएको यो कम्पनीले बिगत ६ बर्षमा सेयरधनीलाई दिएको लाभांश हेर्दा जो कसैको मुख रसाउँछ ।

कम्पनीले आर्थिक बर्ष ०६६/०६७ देखि ०७२/०७३ सम्म आइपुग्दा प्रत्येक बर्ष क्रमशः ५९०, ६८०, ७६०, ८६०, ९९० र १०२० प्रतिशत लाभांश बाँडेको छ ।

यसको मतलब ०७२/७३ मा कम्पनीको २ हजार कित्ता सेयर भएको लगानीकर्ताले नगद लाभांश २० लाख ४० हजार रुपैयाँ बुझेको छ । अब, तपाईं नै भन्नुस्, यदि तपाईंले यो कम्पनीको सेयर आइपिओ वा त्यसै समयमा किन्नुभएको भए अहिले बेच्नुहुन्थ्यो त ?

कसैले पनि बेच्न नचाहेको र सेयर संख्या नै थोरै भएका कारण यो सेयरको बजारमा खासै उपलब्धता नै छैन । र, उच्च माग र कम आपुर्तिका कारण नै कम्पनीको सेयर मुल्यले आकाश छोएको छ ।

आर्थिक बर्ष ०७१/७२ मा कम्पनीले १ अर्ब ३ करोड रुपैंयाँ खुद नाफा गरको थियो । त्यो भन्दा अघिल्लो बर्ष कम्पनीको खुद नाफा ९० करोड ९५ लाख रुपैंयाँ थियो ।

अघिल्लो बर्ष भने कम्पनीले १ अर्ब ४ करोड रुपैंयाँ खुद नाफा गरेको छ । त्यसै नाफाबाट कम्पनीले १ हजार २० प्रतिशत नगद लाभांश बितरण गरेको थियो । त्यो बेला कम्पनीको जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैंयाँ थियो ।

कम्पनीको गत बर्षको बित्तीय बिवरण सार्वजनिक भैसकेको छैन । तेस्रो त्रैमाससम्मको बित्तीय बिवरण केलाउने हो भने अघिल्लो बर्षको तेस्रो त्रैमास भन्दा गत बर्ष खुद नाफा ४.१८ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष तेस्रो त्रैमाससम्म ३३ करोड ४३ लाख रुपैंयाँ खुद नाफा गरेको कम्पनीले गत बर्ष तेस्रो त्रैमाससम्म ३२ करोड रुपैंयाँ खुद नाफा गरेको छ ।

कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म कुल खर्च बढेर १ अर्ब रुपैंयाँ पुगेको जनाएको छ । अघिल्लो बर्ष कम्पनीको कुल खर्च ७५ करोड ७९ लाख रुपैंयाँ थियो ।

कम्पनीले गत बर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ४ प्रतिशतले घटाए पनि सञ्चालन नाफा भने ४ प्रतिशतले बढाएको छ ।

गत बर्ष तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष पनि १ अर्ब ४१ करोड रुपैंयाँबाट बढेर १ अर्ब ६८ करोड रुपैंयाँ पुगेको थियो । र, प्रति सेयर आम्दानी ४ सय ६३ रुपैंयाँ थियो ।


क्लिकमान्डु