आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता, कृषकलाई यस्तो फाइदा



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच नगरबासीको बालिनाली, पशुपन्छी तथा कृषकको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियलका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषकले पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट गर्नसक्ने छन् । सम्झौताले नगरवासीको भौतिक सम्पत्ति, कृषकको बालिनाली, पशुपन्छी तथा कृषकको व्यक्तिगत दुर्घटना बीमा गराउन सहज हुनेछ ।

हस्ताक्षर कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बीमा गरिएको सम्पत्तिको हानी नोक्सानी भएमा क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले सहजीकरण गर्ने बताए । सम्पत्तिको बीमा गरी ढुक्क भएर पशुपन्छीपालनलगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन उनले कृषकलाई अनुरोध गरे । त्यस्तै आइजीआई प्रुडेन्सियलले नगरवासीलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने बताएको छ ।


क्लिकमान्डु