भूकम्पको धक्कापछि अस्पतालको प्राङ्गणमा सुत्केरी गराइयो



तस्बिर स्रोत: साइपाल एफएम

काठमाडौं । मंगलबार दिउँसो १ घण्टाको अन्तरालमा सुदूरपश्चिम प्रदेशको बझाङमा ४ पटक गएको भूकम्पले भौतिक क्षति भएको छ भने केही घाइते भएका छन् ।

बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि ३ बजेर ४५ सम्ममा चारपटक भूकम्पको दोस्रो झट्का पछि जिल्ला अस्पताल बझाङमा भर्ना भएको गर्भवति महिलालाई अस्पताल बाहिर राखेर सुत्केरी गराइएको छ ।
जिल्ला अस्पताल बझाङको प्राङ्गणमा सुत्केरी भएकी महिलाले २ किलोको बच्चा जन्माएकी छिन् ।

बच्चा र आमाको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका प्रमुख डा नवराज जोशीले जानकारी दिए ।

१ घण्टाको अन्तरालमा ४ पटक भूकम्प

दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । ५.३ म्याग्निच्युडको भूकम्पको धक्काको केन्द्रबिन्दु बझाङको तालकोट आसपासको क्षेत्रमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पहिलो धक्का महसुस भएको २६ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । ३ बजेर ६ मिनेटमा मापन गरिएको भूकम्प ६.३ म्याग्निच्युडको रहेको थियो । जसको केन्द्रबिन्दु अघिल्लो पटकको केन्द्रबिन्दुभन्दा केही तल भाटेखोला छेउमा रहेको थियो ।

दोस्रो पटकको धक्काको ७ मिनेटपछि ३ बजेर १३ मिनेटमा तेस्रो पटक भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । ५.१ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु भाटेखोला, तालकोट र रिलु क्षेत्रको आसपासमा रहेको थियो ।

त्यस्तै, चौथो पटक ३ बजेर ४५ मिनेटमा भूकम्पक मापन भएको थियो । तेस्रो पटकको धक्काको ३२ मिनेटपछि ४.१ म्याग्निच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ ।

चौथो पटकको धक्काको केन्द्रबिन्दु लेखगाउँ र कडेलको आसपासमा रहेको छ ।

ति भूकम्पका धक्का पश्चिमी क्षेत्रसहित भारतको दिल्लीसम्म महसुस गरिएको जनाइएको छ ।

भूकम्पका कारण बझाङमा विद्यालय, वडा कार्यालय, घरहरुमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पकामा परि ७ जना घाइते भएका छन् । बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका हुन् ।


क्लिकमान्डु