पूर्वअर्थमन्त्रीको प्रश्न: अर्थतन्त्रमा मन्दी आएको स्वीकार गर्न नसक्ने सरकारले कसरी समाधान खोज्छ ?



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका समस्या सरकारको टालटुले जवाफले सुधार नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै टालटुले जवाफले अर्थतन्त्र सम्हालिन नसक्ने बताए ।

‘मुलुकको आर्थिक अवस्था चान्चुने अवस्थामा छैन । सरकारले टालटुल गरेर टालटुले जवाफले मुलुकको अर्थतन्त्र समालिने अवस्था छैन । अर्थतन्त्रको समग्र शल्यक्रिया गर्न सक्ने गरी उपचार गर्न सक्ने गरी उचित प्रवन्ध सहित समितिले बैठक आयोजना गर्नुपर्छ’ पौडेलले भने ।

अर्थतन्त्रको समग्र सल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रवन्ध सरकारले गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रका विषयमा छलफल गर्न समिति बैठकमा बोलाउँदा अर्थमन्त्री आउनुपर्ने उल्लेख गरे ।

अर्थतन्त्र र समितिमा अर्थमन्त्रालयले प्रस्तुत गरेको आर्थिक अवस्था मेला नखाएको उनको भनाइ छ ।

देशको अर्थतन्त्र मन्दीको अवस्थामा आए पनि अर्थमन्त्रालयले मन्दिको अवस्थालाई स्वीकार गर्न नसकेको पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ ।

अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने उनको दाबी छ ।

‘अर्थमन्त्रालयले अर्थतन्त्र मन्दिको अवस्थामा पुगेको स्वीकार गर्न सकेन । स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान खोज्छ कसरी ?,’ उनले भने, ‘बजेट प्रस्तुत हुँदै गर्दा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको थियो । अर्थतन्त्र मन्दिमा गएको विषयमा सरकारले मौनता साधेको छ । यो समस्यालाई बेवास्ता गरेर अर्थतन्त्र सुधार गर्न सक्दैनौं ।’

उनले बजारमा मागमा कमी आएको र धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गरे ।

उनले देशमा राजस्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताए ।
राजस्व सरकारको साधरण खर्च धान्न नसक्ने अवस्था पुगेको उनको दाबी छ ।


क्लिकमान्डु