बाढीका कारण एक अर्ब बराबरको कृषि उपज नष्ट



गौशाला । बाढीका कारण महोत्तरी जिल्लामा एक अर्ब रुपैयाँ मूल्य बराबरको कृषि उपज नष्ट भएको छ ।

रातो, जंघा, विग्ही, अंकुशी, भव्सीमा आएको भीषण बाढीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, रामगोपालपुर, लोहारपट्टी, मनरा, एकडारा, गौशाला, सम्सी, बलवालगायतका ग्रामीण तथा सहरी क्षेत्रमा लगाइएको कृषि उपज बगाउँदा सो मूल्य बराबरको क्षति भएको अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।

कार्यालयअनुसार ३७ हजार ५०० हेक्टर जग्गाका लगाइएको धान खेतीमध्ये २२ हजार हेक्टर धानखेती डुबानमा परी नष्ट भएको छ ।

त्यस्तै धीरापुर, मटिहानी, धमौरा, भंगहा, विजलपुरा, लक्ष्मीनियाँ, अनकार र बलवामा लगाइएको आठ हजार दुई हेक्टर तरकारी खेतीमध्ये दुई हजार ६२ हेक्टरमा लगाइएको तरकारीबाली नष्ट भएको छ ।

त्यस्तै सात हजार ५०० हेक्टर ऊखु खेतीमध्ये १२ प्रतिशत उखुबाली नष्ट भएको र ५०० हेक्टर रहरबाली बाढीले नष्ट गरेको हो । जिल्लामा सबै भन्दा बढी क्षति माछाखेतीलाई भएको छ । एक हजार आठ सय ९ हेक्टर माछाखेतीमध्ये ८ सय हेक्टर माछाखेती बगाएको छ ।

बाढीबाट एक अर्ब बराबरको कृषि उपज नष्ट भएको प्रारम्भिक तथ्यांक रहेको कार्यालयका प्रमुख सुकेश्वर झाले बताए ।


क्लिकमान्डु